२०७८ मंसिर ११ , शनिवार

२० महिनापछि काठमाडौंबाट मुम्बई, बेंग्लोर र बनारस उडान सुचारु हुँदै

download (1)

सुनाखरी न्युज/ काठमाडौं – लकडाउनका कारण ०७६ चैतदेखि रोकिएको काठमाडौंदेखि मुम्बई, बेंग्लोर र बनारस उडान २० महिनापछि सुचारु हुने भएको छ ।

भारतले गत साता दुवै देशका वायुसेवाले सातामा ५६ वटा उडान गर्न सक्ने प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतलाई ०७६ चैत अघिकै अवस्थामा भइरहेका उडान सुचारु गर्न प्रस्ताव पठाउने निर्णय गरेको हो ।‘आइतबार पर्यटनमन्त्री प्रेमबहादुर आलेले भारतलाई दिल्लीबाहेक मुम्बई, बेंग्लोर र बनारस उडान सुचारु गराउने प्रस्ताव गर्न भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने ।

 

अब दुवै देशका अनुमति प्राप्त निजी वायुसेवाले पनि नेपाल भारत उडान गर्न पाउने भएका छन् । यो निर्णय अघि भारतले एयर बबल अवधारणमा दुई देशका ध्वाजाबहाक बाहेक अन्य वायुसेवालाई उडानमा रोक लगाएको थियो । अब नेपाल वायुसेवा निगमले भारतको दिल्लीमा दैनिक गर्दै आएको उडानलाई यात्रुको मागका आधारमा वृद्धि गर्न पाउने बाटो खुलेको छ । त्यस्तै, काठमाडौंबाट बनारस उडान गर्दै आएको बुद्ध एयरले पनि उडान गर्न पाउने भएको छ । त्यस्तै, भारतीय वायुसेवा इन्डिगो, स्पाइस जेट र भिस्तारालगायत नेपाल उडान अनुमति पाएका भारतीय वायुसेवाले पनि काठमाडौं उडान गर्न पाउने भएका छन् ।