अन्तर्बार्ता

संघीयताले बैंकिङ क्षेत्रलाई राम्रो फाइदाः अनिल शाह

Posted: 2018-09-12 07:08:22

 
सुनाखरी न्युज/ काठमाडौं– अनिल केशरी शाह एक जना त्यस्ता ‘लाइक माइन्डेड’ बैंकर मानिन्छन, जसले कुनै न कुनै नयाँ विचार प्रस्तुत गरिरहेका हुन्छन् । अहिले उनी संघीयताले बैंकिङ क्षेत्रलाई राम्रो फाइदा पुगेको निश्कर्षमा छन् । 
हाल नविल बैंकका सीईओ रहेका शाहसँग हामीले बैंकिङ क्षेत्रमा देखिएका समस्याबारे कुराकानी गरेका छौं । प्रस्तुत छ, बैंकिङ क्षेत्रको अवस्था, स्प्रेड दर र ब्याजदर लगायतका विषयमा बैंकर शाहसँग गरेको कुराकानीः
 
राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले स्प्रेड रेट घटाएको छ । अब बैंकहरुको मुनाफामा गिरावट आउने सम्भावना छ कि छैन ?
 
मेरो विचारमा ब्याजबाट हुने आम्दानी घट्न सक्छ । जस्तो स्प्रेड रेट ५ बाट ४.५ मा आउँदा नविल बैंककै बटमलाइनमा हिट गर्छ । तर, त्यसले हिट गर्छ भन्दैमा हामी केही नगरी हातमा हात राखेर बस्दैनौं । यसका लागि हामीले बिजनेस बढाउनुपर्छ । स्प्रेड रेट घटे पनि हाम्रो बिजनेसको भोल्युम बढ्यो भने त नाफा पनि बढ्छ नि । तर, स्प्रेड रेटको विषयमा मेरो अर्को धारणा पनि छ ।
 
कस्तो धारणा ?
 
बैंकिङ क्षेत्रमा ५ प्रतिशतको स्प्रेड रेटले यति धेरै मुनाफा आर्जन हुँदो रहेछ भने भने अन्य क्षेत्रमा स्प्रेड रेट धेरै ठूलो छ । एउटा मोटरसाइकल विदेशमा बनेको हुन्छ, कर तिरेर यहाँ ल्याइन्छ । तर, त्यो मोटरसाइकलमा ३०र३५ प्रतिशत स्प्रेड खाने गरिन्छ । यो ठीक हो त ?
 
बैंकमा काम गर्ने र उद्योगमा काम गर्ने कामदारको जीवनस्तरमा धेरै अन्तराल देखिन्छ । उद्योगमा उद्योगपतिको मात्रै जीवनस्तर फेरिएर कामदारको जहाँको त्यहीँ छ । जबकि बैंकमा मालिकसँगै कामदारहरु पनि धनी भइरहेका छन् ।
दैनिक उपभोगी वस्तुहरु चामल, तेल तथा तरकारीमा पनि स्प्रेड रेट राख्नुपर्छ । एउटा किसानले पाउने रकम र उपभोक्ताले किन्ने रकममा कति धेरै फरक छ । किसानसँग किनेर उपभोक्तालाई बेच्ने मान्छेले पनि कति नाफा खाने भन्ने तोक्दा राम्रो हुन्छ ।
 
नागरिकको दैनिक जीवनमा आवश्यक पर्ने वस्तुमा पनि ५ प्रतिशतको स्प्रेड रेट तोक्दा हुँदैन ? सानो बिजनेस छ भने बरु १० प्रतिशत नै दिउँ । तर, ठूला उद्योग धन्दामा त ध्यान दिनु पर्‍यो नि । जस्तो– एउटा सिमेन्ट उत्पादन गर्न कति खर्च लाग्छ, त्यो सबै खर्च कटाएर ५ प्रतिशत स्प्रेड (नाफा) खाएर उपभोक्तालाई बेचौं न त । यस विषयमा गम्भीर बन्न आवश्यक छ ।
 
त्यसैगरी, सरकारले नै वितरण गर्ने इन्धनमा पनि ५ प्रतिशतको स्प्रेड रेट तोक्नुपर्छ । अनि मात्रै हामीले कल्पना गरेअनुसारको मुलुक समृद्ध बन्छ र समाजवादी संविधानको कार्यान्वयन हुन्छ । यसको मतलव, मैले हामी (बैंक) लाई ४.५ प्रतिशतको स्प्रेड रेट कम भयो भन्न खोजेको होइन । हामीलाई ४.५ प्रतिशत स्प्रेडले पुग्छ भने अन्य क्षेत्रलाई पनि निश्चित प्रतिशत तोकिदिनु पर्‍यो नि ।
 
बैंकमा लगानी गर्नेहरुले प्रशस्त नाफा कमाउने कारण के हो ?
 
बैंकमा काम गर्नेहरु गाडी चढ्छन्, ठूलो घर छ भन्ने कुराहरु पनि उठ्ने गरेको मैले पाएको छु । नेपाल अरब बैंकको नामबाट ३४ वर्षअघि हामीले कारोबार शुरु गरेका थियौं । ३४ वर्षअघि यस बैंकमा काम गर्ने कर्मचारीको जीवनस्तर त्यसबेला र अहिले तुलना गर्ने हो भने धेरै फरक छ ।
 
उहाँहरुले कर्जा लिएर घर बनाउनुभएको छ होला, मोटर किन्नुभएको छ होला । अनि, छोराछोरीलाई राम्रो स्कूलमा पढाउनुभएको छ । कर्मचारी मात्रै होइन, बैंकका संस्थापक सेयरधनीहरुलाई पनि बैंकले करोडौं–करोड मुनाफा पनि दिएको छ ।
 
अब त्यो बैंकसँगै ३४ वर्षअघि खोलिएको उद्योगको कुरा गरौं ।
 
 
 
त्यो उद्योग खोल्ने मान्छेको त्यतिबेला ५० करोडको सम्पत्ति थियो भने यतिबेला अर्बौं अर्बको पुगिसकेको छ । जीवनस्तर पनि कहाँबाट कहाँ पुगिसकेको छ । तर, त्यही उद्योगमा काम गर्ने कामदारको जीवनस्तर भने जहाँको त्यहीँ छ ।
 
वित्तीय क्षेत्रमा काम गर्ने र उद्योगमा काम गर्ने कामदारबीच तुलना गर्नुस त, कत्ति फरक छ ? बैंकमा लगानी गर्ने र काम गर्ने दुबैको जीवनस्तर फेरिँदा उद्योगमा चाहिँ उद्योगपतिको मात्रै जीवनस्तर फेरिएर कामदारको जहाँको त्यही हुनु त ठीक होइन नि ।
 
उद्योगधन्दा, कलकारखाना खोल्ने भनेको सीमित वर्गलाई मात्रै धनी बनाउन त पक्कै होइन । अहिले बीबीएस, बिए, एमबीए, एबीएस पढेका युवाहरुलाई कहाँ जागिर खाने भनेर सोध्ने हो भने बैंकिङ क्षेत्रमा भन्नुहुन्छ । हो, त्यस्तै सोच अन्य क्षेत्रका लागि पनि बनाउन आवश्यक छ ।
 
८ अर्ब पूँजी पुर्‍याउनै पर्ने बाध्यताका बीच पनि गत आर्थिक वर्ष बैंकहरुले मुनाफामा राम्रै प्रगति गरे, यो कसरी सम्भव भयो ?
 
बैंकहरुको मुनाफा वृद्धिलाई सबैले सकरात्मक रुपमा लिनुपर्छ । बैंकहरुको अवस्थामा धेरै सुधार भएको छ । कुनै क्षेत्रले राम्रो गर्न खोज्छ भने त्यो क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।
 
विगत केही वर्षदेखि नै बैंकहरुले राम्रो मूनाफा आर्जन गरिरहेका छन् । बैंकहरुले कसरी मूनाफा बढाए भन्ने प्रश्नका सन्दर्भमा म तपाईलाई एउटा उदाहरण दिन चाहन्छु । म दैनिक रुपमा एउटा होटलको उदाहरण दिन चाहन्छु ।
 
त्यो होटल पहिले एउटा विल्डिङमा थियो । पछि त्यसले अर्को विल्डिङ थप्यो र त्यो होटलको बेडरुमको संख्या पनि दोब्बर भयो । त्यसपश्चात होटलको नाफा पनि दोब्बर भयो । मान्छेहरुले यो होटलले कसरी यत्रो धेरै नाफा कमायो भनेर प्रश्न गर्छन् । तर, त्यत्रो लगानी गरेर उसले सेवा दोब्बर बनाएको छ भने नाफा पनि त बढ्ने नै भयो नि होइन ?
 
त्यस्तै बैंकहरुको कुरा गर्ने हो भने पनि हिजो २ अर्ब रहेको पूँजी बढेर ८ अर्ब पुगिसकेको छ । पूँजी जसरी बढेको छ, सोही अनुरुप हामीले बिजनेश पनि त बढाउनुपर्‍यो नि । गत वर्षमा नविल बैंकले मात्रै २२ वटा शाखा विस्तार गरेको छ ।
 
अन्य बैंकहरुले पनि धेरै शाखा थपेका छन् । गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने नेपालको इतिहासमा नै धेरै शाखा सञ्चालनमा आएका छन् । पछिल्ला वर्षहरुको तथ्यांक हेर्दा हाम्रो उपस्थिति बढेपछि निक्षेप र कर्जाको मात्रामा पनि वृद्धि भएको छ ।
 
अर्को कुरा, हाम्रो स्प्रेड रेट गत वर्ष ५ प्रतिशत थियो भने अहिले ४.५ प्रतिशतमा झारिएको छ । हामीले सबै खर्च कटाएर बढीमा ५ प्रतिशतमात्रै नाफा आर्जन गर्न पाउथ्यौं । ५ प्रतिशतको स्प्रेड रेटमा पनि मुनाफा राम्रो आर्जन गर्नु भनेको सकारात्मक पक्ष हो । वित्तीय क्षेत्र भनेको अर्थतन्त्रको मुटु हो ।
 
म त भन्छु, बैंकिङ क्षेत्रजस्तै अन्य क्षेत्रहरुले पनि यसरी नै नाफा बढाउन् । बढी कर तिरुन् । तर, नाफाचाहिँ काम गरेर बढाउनुपर्‍यो । अनि बढाएको नाफा देखाउनुपर्‍यो र बढेको नाफा अनुसारको कर तिर्नुपर्‍यो
शरीर वलियो हुन मुटु दह्रो हुनुपर्छ । यसर्थ अर्थतन्त्र वलियो बन्न वित्तीय क्षेत्र पनि बलियो हुनुपर्ने हुँदा बैंकहरुको मुनाफा बढ्नुलाई सकारात्मक लिनुपर्छ ।
 
मुलुककै आम्दानीको कुरा गर्ने हो भने पनि बैंकिङ क्षेत्रको योगदान ठूलो छ । यो क्षेत्रले नै सबैभन्दा बढी कर तिर्छ । म त भन्छु, बैंकिङ क्षेत्रजस्तै अन्य क्षेत्रहरुले पनि यसरी नै नाफा बढाउन् । बढी कर तिरुन् । तर, नाफाचाहिँ काम गरेर बढाउनुपर्‍यो । अनि बढाएको नाफा देखाउनुपर्‍यो र बढेको नाफा अनुसारको कर तिर्नुपर्‍यो ।
 
तर, बैंकहरु सेवाभन्दा पनि बढी मुनाफामा केन्द्रित भएको आरोप छ नि ?
 
मुलुकमा २८ वटा वाणिज्य बैंकहरु छन् । त्यसमा सरकारी स्वामित्वका पनि बैंकहरु छन् । बैंकहरुले सेवा राम्रो दिएनन् भन्ने विषयमा म सहमत छैन । कुनै एउटा ग्राहकलाई कुनै बैंकको शाखाले दिएको सेवा मन परेन वा चित्त बुझेन भने भोलिदेखि नै अर्को बैंकको शाखाबाट कारोबार शुरु गर्ने सुविधा छ ।
 
एउटा बैंकले थोरै ब्याज दियो वा कर्जामा धेरै ब्याज लियो भने ग्राहकले विकल्प रोज्न सक्नुहुन्छ । प्रतिस्पर्धाका कारण पनि बैंकले राम्रो सेवा नदिई सुख छैन ।
 
हिजो विनाशकारी भूकम्प गयो । धेरै क्षेत्रहरु धराशयी भए र जनतालाई सुिवधा दिन सकेनन् । तर बैंकहरुले भने सदाबहार रुपमा बैंकिङ सुविधा प्रदान गरे । हामीले विपन्न वर्गमा लगानी, ग्रामीण भेगमा शाखा लगायतका सरकारी योजनालाई साथ दिइरहेका नै छौं । हामी सेवा दिनका लागि पछि कहिल्यै हटेका छैनौं र हट्दैनौं पनि ।
 
पछिल्लो समय बैंकिङ क्षेत्रमा भएका सुधारहरु के–के हुन् ?
 
बैंकिङ क्षेत्रमा सुधार क्रमशः हुँदै आएको छ । पछिल्लो समय सुधार भएको मुख्य कुरो लगानीयोग्य रकम हो । विगत केही वर्षदेखि लगानीयोग्य रकमको अभाव सिर्जना भयो । यसको कारण भनेको सरकारले रकम खर्च गर्न नसक्नु हो ।
 
नयाँ संविधानको व्यवस्थाअनुसार आर्थिक वर्षको शुरुवातदेखि नै रकम खर्च हुन शुरु भइसकेको छ । अब प्रान्तीय सरकार र स्थानीय तह भएपछि पहिलो जस्तो समस्या देखा नपर्ला ।निजी क्षेत्रले तिरेको कर राज्यको ढुकुटीमा बस्छ । नेपाल सरकारले पैसा खर्च गरिदिएन भने त्यो रकम अर्थतन्त्रबाट बाहिर जान्छ र बैंकिङ क्षेत्रमा तरलता अभाव सिर्जना हुन्छ । अब त्यो समस्या भने हटेको छ ।
 
राष्ट्र बैंकले ल्याएको पूँजी वृद्धिको योजनापछि बैंकहरु अझ बलिया भएका छन् । अर्को कुरा सरकारी नीतिका कारण मुलुकमा बैंकको उपस्थिति बढेको छ । बैंकका शाखाहरु गाउँगाउँमा विस्तार भएका कारण बैंकिङ पहुँचमा नागरिकको हिस्सासमेत वृद्धि भएको छ ।
 
यतिबेला बैंकिङ क्षेत्रमा लगानीयोग्य पूँजीको अभाव छैन भनिन्छ, कर्जाको माग कत्तिको छ ?
 
कर्जाको माग सधैंजसो भइरहन्छ । दिन चाहने वा दिन सक्ने कर्जाको माग कत्तिको छ भन्ने कुरा मात्रै हो । जे होस् नयाँ आर्थिक वर्षमा कर्जाको माग राम्रै छ । भदौ महिनामा मात्रै पनि नविल बैंकमा कर्जाको माग बढ्यो । यतिबेला हाम्रो सीसीडी रेसियो ७५ प्रतिशत छ । तर, ठूला ठूला कर्पोरेट हाउसलाई मात्रै कर्जा दिएर चाहिँ पुग्दैन ।
 
अब हामीले नयाँ मार्केट लिनु आवश्यक छ । हामीले २२ वटा शाखा थप गरेका छौं । थप गरेका ती शाखाहरुले पुरानै व्यक्ति तथा संस्था, कम्पनीलाई मात्र ऋण दिँदैनन् ।
 
हामीले नयाँ व्यक्ति तथा कम्पनीमा लगानी गर्नेछौं । हामीले पुरानालाई कर्जा दिँदैनौं भन्न खोजेको चाहिँ होइन । पुराना अनि ठूला कर्पोरेट हाउसहरुलाई पनि कर्जा दिन्छौं । यसका साथै नयाँलाई पनि प्राथमिकतामा राखेका छौं ।
 
मौद्रिक नीतिमा प्राथमिकता प्राप्त क्षेत्र भनेर कुल कर्जाको २५ प्रतिशत छुट्याउनुपर्ने र त्यसमध्ये कृषिमा मात्रै १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था कत्तिको चुनौतिपूर्ण छ ?
 
वास्तवमै चुनौतिपूर्ण छ । नेपालको कृषि भनेको वैयक्तिक क्षेत्र हो । हाम्रो मुलुकमा ठूलाठूला कृषि फार्महरु छैनन् । धेरैजसो व्यक्तिगत र साना फार्महरु मात्रै छन् ।
 
म मेरो जागिर छाड्न तयार छु, तर बचतकर्ताको हित विपरीत काम गर्न सक्दिनँ । ब्याजदर अहिले घट्न शुरु भइसकेको छ । पहिलो त्रैमाससम्म समय चाहिँ लाग्छ, ब्याजदर घट्छ
अर्को कुरा, गाउँघरमा हेर्ने हो भने बालबालिका र ज्येष्ठ नागरिकलाई मात्रै भेट्न सकिन्छ । युवा जनशक्ति त सबै विदेशमा छन् । जब स्वदेशमा खेती गर्ने जनशक्ति नै छैन भने कसरी लगानी गर्नु ? हाम्रा सम्भाव्य किसानहरु मलेसिया, साउदी, कतार, कोरियाजस्ता मुलुकहरुमा छन्, अनि बैंकहरुले कसरी कृषिमा लगानी गर्ने ? पैसा रोपेर त फल्दैन ।
 
हाम्रो तराईका जिल्लाहरुमा छिमेकी देशका नागरिक आएर खेतीपाती गरिहेका छन् । त्यो देखेर मलाई के लाग्छ भने नेपालमा सञ्चालित वित्तीय क्षेत्रले कृषि क्षेत्रमा लगानी गर्दिनँ भन्नु गलत हो ।
 
तर, बाणिज्य बैंकहरुले सानो कर्जा नै दिँदैनन् भन्ने गुनासो छ नि कृषकको !
 
मैले कर्जा दिँदा बचतकर्ताको हित पनि हेर्नुपर्छ । मैले कृषकलाई कर्जा दिएको थिएँ, उहाँहरुले तिर्नुभएन, तपाईहरुले १ सय रुपैयाँ राख्नु भएकोमा ९० रुपैयाँमात्रै लैजानुस् भन्न त मिल्दैन । त्यही भएर हामीले त्यो जोखिम पनि हेर्नुपर्छ । नेपालको सन्दर्भमा परम्परागत खेती गरेर आम्दानी गर्न होइन, आफैंलाई गुजारा गर्न पनि गाह्रो छ ।
 
मुलुक अहिले संघीयतामा गएको छ । म यो प्रणालीबाट धेरै खुसी छु । अब प्रदेश नम्बर ३ कै कुरा गरौं । त्यहाँको मुख्यमन्त्री र कृषिमन्त्रीसँग हामीले भेट्यौं । प्रदेश सरकारको सोच देखेर म खुसी भएँ ।
 
कस्तो सोच देख्नुभयो ?
 
उहाँहरुले आफ्नो प्रदेशमा जुनार र किवीमा लगानी गर्न सकिने बताउनुभएको छ । यो धेरै राम्रो हो । प्रदेश सरकारले अब ठाउँ हेरेर लगानी गर्न हामीलाई वित्तीय सुविधा दिनुपर्‍यो भन्नुभएको छ । यसका लागि हामी तयार छौं ।
 
त्यसरी राम्रो उत्पादन गर्न सकियो भने नेपालको जुनार र किवी संसारभरि पुग्छ । त्यस्तोमा लगानी गर्न हामी तयार छौं । तर, यहाँ त्यत्तिकै बैंकहरुले लगानी गरेनन् भनिन्छ । लगानी गरेरमात्रै हुँदैन, त्यो लगानी डुब्नु पनि त भएन ।
 
मुलुक संघीयतामा गए पनि बैंकिङ पहुँच अझ पनि ५० प्रतिशतसम्म पुग्न सकेको छैन, यसलाई ८० प्रतिशत हुन कति समय लाग्ला ?
 
यतिबेला धमाधम शाखा विस्तार भइरहेका छन् । हिजो घण्टौं समयसम्म गाडी चढेर बैंकिङ सुविधा लिनुपर्ने बाध्यता थियो, जसका कारण बैंकिङ सेवामा मान्छेको रुचि थिएन । अब गाउँमै बैंक पुग्दैछन् । यसपछि त बैंकिङ सेवातर्फ आकर्षण बढिहाल्छ नि । मेरो विचारमा बैंकिङ पहुँचमा ८० प्रतिशतभन्दा बढी नागरिक पुग्न २ वर्ष पनि लाग्दैन ।
 
बैंकको उपस्थिति नभएर पो बैंकमा खाता खोलेनन् त । बैंक पुगेपछि त खाता खोल्छन् नि । बैंक पुगेपछि बैंकिङ पहुँचमात्रै होइन, बीमाको पहुँच पनि बढ्छ । यसका साथै सेयर बजारमा नागरिकको पहुँच बढ्नेछ ।
 
अहिले अधिकांश सेयर कारोबार गर्ने काठमाडौं बस्ने नै छन् । काठमाडौंमा मात्रै ब्रोकर छन् र यहाँ कारोबार हुन्छ । अब वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स खोल्न दिइने भएको छ । यसकारण स्थानीय तहमा बैंक पुगेपछि पुँजी बजारको दायरासमेत बढ्छ ।
 
अहिले अधिकांश सेयर कारोबार गर्ने काठमाडौं बस्ने नै छन् । काठमाडौंमा मात्रै ब्रोकर छन् र यहाँ कारोबार हुन्छ । अब वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स खोल्न दिइने भएको छ । यसकारण स्थानीय तहमा बैंक पुगेपछि पुँजी बजारको दायरासमेत बढ्छ । भनेपछि यतिबेला बैंकिङ क्षेत्रमा पर्याप्त तरलता छ ?
 
अहिले नै पर्याप्त छ भन्दा पनि पर्याप्त हुँदैछ । विगतमा जस्तो अब भने बैंकिङ क्षेत्रले तरलता अभावको महशुस गर्नुपर्दैन । अहिले मुलुक संघीय संरचनामा गइसकेको छ । पहिले महेन्द्रनगरमा पानी आएन वा ढल निकास भएन भने काठमाडौं आएर मन्त्रीलाई भेट्नुपर्ने बाध्यता थियो । अब त्यो पर्दैन । यो गुनासो प्रदेश वा स्थानीय तहबाटै समाधान हुनेछ । अब बजेट खर्च पनि शुरुवातदेखि नै खर्च हुन शुरु भइसकेको छ ।
 
डा. युवराज खतिवडाजस्तो विज्ञ व्यक्ति अर्थमन्त्री हुनुभएको छ । उहाँले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष एवं राष्ट्र बैंकको गभर्नरजस्तो भूमिकामा बसेर जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँलाई मुलुकको अर्थतन्त्रसम्बन्धी धेरै ज्ञान छ ।
 
आफैंले अध्ययन गरेर ल्याएको बजेट भएका कारण उहाँले एक–एक बुँदा कार्यान्वयन गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । खर्च शुरु भइसकेको छ भने कर असुली पनि सकारात्मक दिशामा अघि बढिरहेको छ । यतिबेला ब्याजदर पनि घट्न शुरु भइसकेको छ ।
 
 
 
तर, बैंकको ब्याजदर अझै घटेको छैन भन्ने गुनासाहरु त आइरहेका छन् नि ?
 
ब्याजदर जति घटे पनि गुनासाहरु आइरहन्छन् । हामीलाई पनि कुनै वस्तु तथा सेवा लिँदा सस्तो पाए हुन्थ्यो भन्ने लाग्छ । जति छुट दिए पनि महंगैजस्तो लाग्छ ।
 
म उद्योगपति व्यापारीहरुलाई के आग्रह गर्न चाहन्छु भने ब्याज घटेका बेला उपभोक्तालाई बिक्री गर्ने वस्तु तथा सेवाको मूल्य पनि घटाउनुपर्‍यो । ब्याज नै सबैभन्दा ठूलो कष्ट भन्ने ठानेपछि ब्याजदर घट्दा वस्तुको मूल्य पनि त घटाएर उपभोक्तालाई बेच्नुपर्‍यो नि ।
 
ब्याज घट्यो भने त्यसको फाइदा एउटा सीमित समूहले पाउने र ब्याज बढ्यो भने त्यसको घाटा भने उपभोक्तासमेतले व्यहोर्नु पर्ने अववस्था छ । यस्तो हुनु हुँदैन भन्ने धारणा हो ।
 
म एउटा सीईओ भएका कारणले मेरो बैंकका प्रमोटरलाई कसरी मुनाफा दिने भन्ने सोच्नुपर्ने हुन्छ । मेरो बैंकलाई विश्वास गरेर करोडौं, अर्बौं रकम बचत गर्ने बचतकर्ताको हित पनि मैले हेर्नुपर्ने हुन्छ । म मेरो जागिर छाड्न तयार छु, तर बचतकर्ताको हित विपरीत काम गर्न सक्दिनँ । ब्याजदर अहिले घट्न शुरु भइसकेको छ । पहिलो त्रैमाससम्म समय चाहिँ लाग्छ, ब्याजदर घट्छ ।
 
अर्को कुरा, ब्याजदरको उतार–चढाव त अलिअलि भइ नै रहन्छ । तर, विगतका वर्षहरुमा जस्तो उतार–चढाव हुन्छ जस्तो लाग्दैन । म कर्जा लिनेहरुलाई के आग्रह गर्न चाहन्छु भने अलि ठूला बैंकहरुमा ब्याजदर धेरै घट्ने–बढ्ने हुँदैन ।
 
 
अन्त्यमा, तपाई कार्यरत रहेको नविल बैंककै कुरा गरौं, मुनाफा आर्जनका हिसाबले नविल सधैं अगाडि देखिन्छ । सधैँ मुनाफा आर्जन गर्नुमा केले भूमिका खेलेको छ ?
 
नविल बैंकको मुनाफा मात्रै होइन हरेक विषयमा अगाडि नै छ । यसमा सबैभन्दा ठूलो कुरा भनेको ग्राहकको विश्वास हो । हामीलाई निक्षेपकर्ता, कर्जा लिने सबैले विश्वास गर्नुभएको छ । हाम्रो सफलताको मूख्य आधार नै जनविश्वास हो ।
 
अर्को कुरा नविलमा जस्तो टिम अरु बैंकहरुमा छैन । लामो समयसम्म काम गरेको अनुभवी हाम्रो टिम छ । अनुभव भनेको पैसाले किन्ने होइन । अहिले भने धेरै बैंकहरु नजिक आइसकेका छन् । नाफामा सरकारी बैंक नै अघि बढेका छन् ।
 
नयाँ शाखा थप्दा हामीले ग्रामीण भेगलाई प्राथमिकता दिएका छौं । ग्रामीण भेगमा शाखा खोल्दा ३ वर्षसम्म वैधानिक तरलता अनुपात र नगद मौज्जात अनुपात नलाग्ने व्यवस्थाको उपयोग हामीले गर्ने नै छौं ।
 
हामीले सक्षम नामक संस्थासँग पनि ग्रामीण भेगमा सेवा दिन सहकार्य गर्यौं । ब्याचलर, मास्टर्स गरेकाहरु गाउँमा हुँदैनन् भनेर हामीले प्लस टु गरेका कर्मचारीहरु नियुक्त गर्यौं । हामी गाउँमा सेवा दिन अग्रसर छौं ।



More News



ईच्छा शक्ति भएमा केहीले पनि रोक्दैन भन्ने उदाहरण बनेकी छन् शाखा अधिकृत शारदा पन्थी

Posted: 2018-12-05 20:01:30

सुनाखरी न्युज/ गुल्मी- गुल्मी जिल्लाको रेसुंगा न.पा.वडा नं.६मा मित्रलाल मरासिनी र लक्ष्मी मरासिनीको दोस्रो सन्तानको रुपमा जन्मनु भएकी शारदा पन्थीको १९ वर्षकै उमेरमा प्रविणता प्रमाणपत्र तह पढ्दा पढ्दै विवाह प्रहरी निरीक्षक गोविन्द पन्थी संग भएको थियो ।श्रीमानले साथ दिए र वातावरण पाएमा महिलाले प्रगती गर्न सक्छन् भन्ने उदाहरण उहाँ बन्नु भएको छ। १ छोरा र १ छोरी की आमा बनेकी शारदाले उक्त अवधीमा मास्टर डिग्री गरी लोकसेवाको तयारी गरी खुल्ला प्रतिस्पर्धामा नाम निकाल्न सफल शारदा पन्थी संगको सफलता कसरी मिल्यो भन्ने सन्दर्भमा हाम्रा संवादाताले गरेको कुराकानी – ...


१५ औं पञ्चवर्षिय योजनाको खाकामा समृद्ध नेपालः प्रा.डा. कँडेल

Posted: 2018-11-04 13:26:38

राष्ट्रिय योजना आयोग मुलुकको विकासका लागि योजना तय गर्ने मुख्य निकाय हो । मुलुकले पहिलोपटक संघीय संरचनाको अभ्यास गरिरहेको अवस्थामा संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारबीच समन्वय गरी समृद्धिको लक्ष्यअनुरूपका योजनाहरू ल्याउनुपर्ने आवश्यकता छ । संघीयतालाई संस्थागत गर्दै वर्तमान सरकारको लक्ष्यअनुसार मुलुकलाई समृद्धिको मार्गमा अगाडि बढाउन आयोगले के कस्तो तयारी गर्दै छ त्यस बिषयमा योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलसँग गरिएको कुराकानीको संक्षेपः...


रेटिङ ‘ओपिनियन’ हो, सिफारिस वा सल्लाह होइनः साजन गोयल

Posted: 2018-10-17 05:47:02

नेपालको हकमा क्रेडिट रेटिङको अवधारणा नयाँ हो। यहाँ क्रेडिट रेटिङ एजेन्सी सुरु भएको पनि पाँच वर्षमात्रै भएको छ। स्वेच्छाले क्रेडिट रेटिङ गराउने परिपाटी बसिनसकेको नेपालमा अधिकांश रेटिङहरु नियमनकारी निकायले लागू गरेका बाध्यात्मक प्रावधानका कारण भएको पाइन्छ। कम्पनीहरुले आफ्नो वास्तविक अवस्था बाहिर ल्याउन नचाहेका कारण स्वेच्छाले रेटिङ गराउने परिपाटी सुरु हुन नसकेको बताइन्छ। यसै सन्दर्भमा क्रेडिट रेटिङ, यसका फाइदारबेफाइदा, लागत तथा नेपालमा क्रेडिट रेटिङको अवस्थाबारे मुलुकको दोस्रो रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका सिइओ साजन गोयलसँगको कुराकानीको सम्पादित अंशः...


धेरै हाइप्रोफाइलका सेक्स स्क्याण्डल पनि बाहिर आउन सक्छनः समाजशास्त्री

Posted: 2018-10-13 06:28:51

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अहिले सबैभन्दा बढी आलोचित भएको र रक्षात्मक अवस्थामा पुग्नुको पछाडि राजनीतिक भन्दा पनि सामाजिक कारण छन् भन्दा बहस अवश्य होला । तर, सामाजिक अपराधहरुको नियन्त्रण गर्न नसके पनि अपराधीलाई कारवाही गर्ने सन्दर्भमा समेत सरकार असफल भएको भन्दै नागरिक स्वस्फूर्त विरोधमा उत्रेका छन् ।प्रस्तुत छ, समाजशास्त्री ढकालसँग बलात्कार र यौनजन्य हिंसाका घटनाहरुको सन्दर्भमा समाजशास्त्रीय कोणबाट गरेको प्रश्नोत्तर –


आर्थिक र बौद्धिक लगानी उत्तिकै महत्वपूर्ण छन्: जीवा लामिछाने, संरक्षक तथा पुर्वअध्यक्ष गैरआवासीय नेपाली संघ

Posted: 2018-10-10 19:13:43

जीवा लामिछाने गैरआवासीय नेपाली संघ संघको स्थापनाकालदेखि नै लगातार रुपमा सक्रिय रहँदै आउनुभएको छ । नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीहरुले सामूहिक लगानीबाटै टेवा पुराउन सक्ने विश्वास लामिछानेको रहेको छ । संघको संरक्षक तथा पुर्वअध्यक्ष समेत रहनु भएका लामिछानेसंग गैरआवासीय नेपाली संघको समाचार संयोजक चिरन शर्माले नेपालमा हुन लागेको विज्ञ सम्मेलनको सम्वन्धमा गरिएको कुराकानी ।...


Advertisements