सुन-चाँदी

सुन तस्करी र हत्या प्रकरणः दुई नयाँ अभियुक्तलाई म्याद थप, सुन र गोरे खोज्दै प्रहरी, ‘कहाँ छ ३३ किलो सुन ?’

Posted: 2018-05-15 10:46:25

 
 
सुनाखरी न्युज/
विराटनगर- ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फबाट बहस गर्ने कानुन व्यवसायीले अदालतसमक्ष सुन खोइ भन्ने जिज्ञासा राखेका छन् । अभियुक्तका तर्फबाट सोमबार बहस गर्दै वरिष्ठ अधिवक्ताहरू माधवराज आचार्य, राजेन्द्र भट्टराई, सुरेशलाल श्रेष्ठसहित १० जनाले अदालतसमक्ष यस्तो जिज्ञासा राखेका हुन् । उनीहरूले अघिल्ला कानुन व्यवसायीले इजलाससमक्ष राखेकै तर्क दोहोर्‍याएका थिए । सुन नै नभेटिएकाले यही आधारमा अभियोग लगाउन नहुने उनीहरूले तर्क गरे । यो मुद्दामा संगठित अपराध ऐन आकर्षित नहुने भन्दै उनीहरूले अभियुक्तलाई साधारण तारेखमा छाड्न माग गरेका छन् ।
 
इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस गरेका प्रतिवादीका कानुन व्यवसायीले अभियुक्तबाट बरामद गरिएका रजिस्टरलगायत कागजात प्रमाणित हुने आधार नभएको तर्क गरे । यसअघि आइतबार बहस गर्ने वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल र राजु बस्नेतले पनि यस्तै तर्क राखेका थिए । प्रतिवादीतर्फको बहस शुक्रबारसम्म चल्ने अदालत स्रोतले जनाएको छ । आइतबार इजलासबाट ‘थुनछेक आदेश’ आउनसक्ने सम्भावना रहेको स्रोतले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ३० जना प्रतिवादीका तर्फबाट ८० जनाभन्दा बढीले बहस गर्नका लागि वकालतनामा दर्ता गराएका छन् ।
 
निलम्बित डीएसपी प्रजित केसीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठ, आचार्य र भट्टराईले प्रहरीको माथिल्लो निकायको मौखिक र लिखित आदेश पालना गर्दै काठमाडौंबाट सुनसरी आएर मोहन काफ्ले र नरेन्द्र कार्कीलाई पक्राउ गर्न सफल भएको बताएका थिए । ‘अभियुक्तहरूलाई मुद्दा मिलाइदिने भन्दै प्रलोभन देखाएर नाटकीय रूपमा पक्राउ गरी अनुसन्धानमा सघाएका उनीहरू कसरी दोषी हुन सक्छन्’, उनीहरूले इजलासमा भने ।
 
दुई नयाँ अभियुक्तलाई म्याद थप
यसैबीच काठमाडौंमा पक्राउ गरी मोरङ पठाइएका दुई अभियुक्तलाई पाँच दिनको म्याद थप गरी प्रहरी नियन्त्रणमा राखिएको छ । संगठित सुन तस्करीबारे अनुसन्धान गर्न बनेको विशेष समितिको निर्देशनमा प्रहरीले दोलखा घर भएका मुक्तिराम श्रेष्ठ र झापाको दमकस्थित सिद्धिकाली मनी ट्रान्सफरका सञ्चालक विनोद अधिकारीलाई पक्राउ गरेको थियो । उनीहरूलाई ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको मोरङ जिल्ला न्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सुन तस्करी र हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सँग आर्थिक कारोबार देखिएको भनिएका उनीहरू दुवै हुन्डी कारोबारी भएको जनाइएको छ ।
 
सुन र गोरे खोज्दै प्रहरी
यो प्रकरण अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयको निर्देशनमा गठित गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वको विशेष समितिले तस्करी भएको भनिएको सुन र फरार मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहितको खोजी तीव्र बनाएको छ । ‘हाम्रो मिसन नै गोरे र सुन फेला पार्नु हो’, समितिमा आबद्ध एक उच्च प्रहरी अधिकृतले भने, ‘समितिको म्याद जेठ ५ सम्म छ, त्यस अवधिमा धेरै कुरा पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’ सूक्ष्म रूपले निचोडमा पुग्न समय लाग्ने भएकाले अनुसन्धानका लागि म्याद थप हुने सम्भावना रहेको बताए । सबै संयन्त्र परिचालन गरी सुन र फरार अभियुक्तहरूको खोजी भइरहेको भन्दै ती सदस्यले चाँडै निचोडमा पुग्ने दाबी गरे । अभियुक्तहरू भारत प्रवेश गरेको सूचनाका आधारमा प्रहरीले भारतीय पक्षसँग समन्वय गरी अनुसन्धान गरिरहेको समितिका सदस्यले बताएका छन् ।
 
सजाय छुटको सिफारिस रद्द
यो मुद्दाका ६३ प्रतिवादीमध्ये अनुसन्धानमा सघाएको भन्दै सम्बिर तिलांगे र विष्णुबहादुर खड्काले पाउने सजायमा ५० प्रतिशत छुट दिने भनिएकामा अब नपाउने भएका छन् । प्रहरी अनुसन्धान क्रममा दिएको बयानअनुसारै अदालतसमक्ष बयान दिने र अनुसन्धानमा सघाउने भनेपछि उनीहरूले पाउने सजायमा छुट गरिपाउन जिल्ला अदालतमा न्यायाधिवक्ताको कार्यालयले सिफारिस गरेको थियो । तर अभियुक्तहरूले अदालतमा बयान फेरेपछि उनीहरूलाई गरिएको सजाय छुटको सिफारिस रद्द गरिएको हो । मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार बयान फेरेपछि सजाय छुटको सिफारिस रद्द गर्दै कानुनअनुसार पूरै सजाय गरिपाउन भन्दै ‘पुनस् अभियोजन’ को निवेदन अदालतसमक्ष दिइएको छ ।
 
तिलांगेलाई कर्तव्य ज्यान महलको १३ (४) अनुसार ज्यान मार्न उक्साएको आरोपसँगै ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी–पैठारी र चोरी–निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ तथा खड्कालाई संगठित आपराधिक समूहको सदस्य भई सुन ओसारपसारमा संलग्न भएको आरोप छ ।



More News



विमानस्थलमा पुन तस्करीको सुन सहित २ पक्राउ

Posted: 2018-08-15 13:13:07

सुनाखरी न्युज/ काठमाडौं - त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट तस्करीको सुनसहित दुई युवक पक्राउ परेका छन। विमानस्थलको कार पार्किङ एरियाबाट बिदेशबाट आगमन भएका यात्रुहरुलाई भंसार छली गर्न लगाई अवैध रुपमा सुन ...


सरकारको दाबी पाँच महिनामा सुन तस्करीको सञ्जाल छिन्नभिन्न पारियो

Posted: 2018-08-13 16:48:52

सुनाखरी न्युज/ काठमाडौं - सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार रहेका ३१ जना फरार अभियुक्त मध्ये थप ८ जना विरुद्ध रेड कर्नर नोटिस र १ जना विरुद्ध डिफ्युजन नोटिस जारी गर्न जिल्ला प्रहरी कार्यालय मोरङमार्फत् सरकारले ...


आज कति छ सुनचाँदीको मूल्य

Posted: 2018-08-08 13:40:29

सुनाखरी न्युज/ काठमाडौं - बुधबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५६ हजार एक सयमा कारोबार भएको छ । ...


विमानस्थलबाट तस्करी गरेको आधा किलो सुन सहित एक पक्राउ

Posted: 2018-08-07 12:50:38

सुनाखरी न्युज/ काठमाडौं - विमानस्थलबाट तस्करी गरेको करिब आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन। सुनसरी घर भई फैयाज आलमलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो। उनले वैदेशिक रोजगारीमा ...


प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो सुन अनुसन्धान समितिले

Posted: 2018-08-01 21:15:39

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा भइरहेको संगठित सुन तस्करीको र्‍याकेटबारे अनुसन्धान गरेको उच्च स्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित समितिका संयोजक ईश्वरराज पौडेल लगायतका पदाधिकारीहरु पुगेर ७ सय ७२ पृष्ठ लामो प्रतिवेदन ओलीलाई बुझाइएको हो ।...


Advertisements