सुन-चाँदी

सुन तस्करी र हत्या मुद्दामा आजदेखि प्रतिवादीतर्फको बयान शुरु

Posted: 2018-05-13 10:56:35

 
सुनाखरी न्युज/
विराटनगर — सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका प्रतिवादीहरूका कानुन व्यवसायीले आइतबारदेखि अदालतसमक्ष ‘थुनछेक बहस’ सुरू गर्दैछन् । यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जनाको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने भएका हुन् ।
 
 
 
उनीहरुले इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस प्रस्तुत गर्ने छन् । प्रतिवादीतर्फको बहस दुई–तीन दिनमा सकिने सम्भावना रहेको उल्लेख गर्दै त्यसपछि इजलासबाट प्रतिवादीमध्ये कसलाई थुनामा राख्ने वा छाड्नेबारे आदेश हुने अदालत स्रोतले जनाएको छ । सरकारका तर्फबाट वकिलहरुले बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुन लागेको हो ।
 
प्रतिवादीतर्फबाट बहस गर्न ८० भन्दा बढी कानुन व्यवसायीले अदालतमा नाम दर्ता गराइसकेका छन्। बहसमा सहभागी हुन काठमाडौंबाट समेत कानुन व्यवसायी आउने भएका छन्। यस्तै मोरङ, सुनसरी, झापालगायत स्थानका कानुन व्यवसायीले पनि प्रतिवादीका तर्फबाट बहस गर्न नाम दर्ता गरेका छन्।
 
यसअघि सरकारका तर्फबाट ७ जनाले जिल्ला अदालत मोरङसमक्ष बहस गरेका थिए। बिहीबार र शुक्रबार गरी दुई दिन चलेको बहसमा उनीहरुले उपलब्ध प्रमाणका आधारमा प्रतिवादीहरु कसुरदार देखिएको भन्दै थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाउन माग गरेका थिए।
 
‘अभियुक्तलाई छाडे प्रमाण लोप हुन सक्छ’
सरकारतर्फबाट उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरन्जीवी पराजुली, मोरङका सहन्याधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्ती, महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता गोपाल रिजाल, मोरङका न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, धनकुटाका मनोज आचार्य, सप्तरीका पुण्यप्रसाद सापकोटाले बहस गर्दै अभियुक्तहरुलाई थुनामै राखेर कारबाही अघि बढाउन माग गरेका थिए।
 
यो ‘भिक्टिमलेस’ (प्रत्यक्ष पीडित नदेखिने प्रकृतिको) अपराध भएको उल्लेख गर्दै प्रतिवादीहरुलाई छाड्दा भने अपराध मौलाउन सक्ने र राज्यले थप क्षति ब्यहोर्नुपर्ने अवस्था आउने तर्क गरेका थिए। अभियुक्तहरुको घरबाट बरामद गरिएका रजिष्टर र अन्य कागजातले सुनका कारोबारी हुन् भन्ने प्रष्ट भएको उल्लेख गर्दै प्रतिवादी स्वयंले बयानमा सुन आएको स्वीकारेकाले सुन बरामद हुनुरनहुनु नै अभियुक्तहरु कारोबारी होइनन् भन्न सकिने आधार हुन नसक्ने बताएका थिए।
 
‘प्रतिवादीहरु संगठित अपराधमा संलग्न हुन्’ बहसमा उनीहरुले भने, ‘यसमा ठूलो समूहको सहभागिता छ, त्यसैले प्रहरी सुरक्षाभन्दा बाहिर रहँदा उनीहरुस्वयं असुरक्षित हुने भएकाले पनि थुनामै राख्नु उचित हुन्छ।’ अभियुक्तहरुलाई छाड्दा संगठित अपराधमा संलग्नहरुको मनोबल बढ्ने, यो प्रकरणमा अरू धेरैको समेत संलग्नता रहेको र कतिपय फरार रहेकाले अभियुक्तहरु स्वयंको सुरक्षा जोखिममा पर्न सक्ने साथै संगठित अपराध ऐन अन्तर्गत उनीहरुमाथि थप अभियोगपत्र पेस गर्न सकिने र नियन्त्रणमा नरहे सम्भाव्य प्रमाण लोप हुन सक्नेतर्फ बहसकर्ताले जिल्ला अदालतको ध्यानाकर्षण गराएका थिए।
 
प्रमाणका रूपमा इजलाससमक्ष शव्यदृश्य
शुक्रबार भएको बहसका क्रममा इजलासमा अभियुक्तहरुले प्रहरीमा दिएको बयानको भिडियो रेकर्ड देखाइएको थियो। करिब ५ मिनट देखाएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले बयान आफूहरुले पढिसकेको भन्दै देखाउनु नपर्ने भनेपछि रोकिएको थियो।
 
अदालतसमक्ष प्रस्तुत गरिएको भिडियोमा मोरङको उर्लाबारीभन्दा उत्तर चारकोसे जंगलभित्र सुनका भरिया भनिएका सनम शाक्यलाई मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) लगायतले यातना दिएको दृश्य पनि समेटिएको एक सरकारी वकिलले बताए। त्यसमा शाक्यलाई कुटपिट गरेको र करेन्ट लगाएर ‘सुन कहाँ छ’ भनेर केरकार गरेको दृश्य छ। त्यसबेला दिइएको यातनाकै कारण शाक्यको मृत्यु भएको प्रहरी अनुन्धानबाट खुलिसकेको छ।
 
प्रतिवादीहरुबीच टेलिफोनमा भएको कुराकानीको प्रहरीले ‘डिजिटल फरेन्सिक ल्याब’ मा परीक्षण गर्दा पाइएका कुरा पनि प्रमाणका रुपमा समेटिएको जनाइएको छ। यस्तै सरकारद्वारा गठित उच्चस्तरीय समितिले लिएको बयानको भिडियो रेकर्ड पनि अदालतमा प्रस्तुत गरिएको मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बताए। जिल्ला न्यायाधिवक्ताको कार्यालयले अभियोगपत्रसाथ अभियुक्तका बयान, टेलिफोन कुराकानी, जंगलमा शाक्यलगायत समूहलाई दिइएको यातना जस्ता गतिविधिको श्रव्य–दृश्य समेटिएको २५ वटाभन्दा बढी ‘सीडी’ अदालतसमक्ष प्रमाणका रुपमा पेस गरेको छ।
 
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले १० दिनअघि १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्तापछि अदालतले पाँच दिन लगाएर प्रहरी नियन्त्रणका सबै अभियुक्तहरुको बयान लिएको थियो। यो मुद्दाका ६३ अभियुक्तमध्ये मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) सहित ३३ जना फरार छन्।



More News



सुनको भाउ ६ वर्ष यताकै महँगो, तोलाको ६० हजार

Posted: 2018-10-13 09:55:32

सुनाखरी न्युज/ काठमाडौं- अन्तर्रा्ष्ट्रिय बजारमा भाउ वृद्धि भएसँगै स्थानीय बजारमा सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ६० हजारमा किनबेच भएको छ। यो भाउ २०६९ भदौयता सबैभन्दा महँगो हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छ बिहीबार ५९ हजार ३ सयमा कारोबार भएको सुन एकै दिनमा ७ सयले बढेर उच्च विन्दुमा पुगेको हो।...


सुन प्रतितोला ६० हजार पुग्यो

Posted: 2018-10-12 14:19:06

सुनाखरी न्युज/ काठमाडौं - दसैँ नजिकिँदै गर्दा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ६० हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले सुनको मूल्य बढेको ...


नक्कली सुन देखाएर २३ लाख ठगी गर्ने २ जना पक्राउ

Posted: 2018-10-09 15:36:10

सुनाखरी न्युज/ काठमाडौं - नक्कली सुन देखाएर २३ लाख रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले नक्कली सुनलाई सक्कली सुन भन्दै विक्री गर्ने सिन्धुपालचोकका विशाल तामाङ र ...


सल्लाहकार समिति बैठक सम्पन्न, प्रष्ट कार्य योजनाकासाथ अगाडि बढ्न निर्देशन

Posted: 2018-10-04 22:05:43

सुनाखरी न्युज/ काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघको सल्लाहकार समितिको वैठक असोज १८ गते विहिबार काठमाडौंको होटल एल्लो पगोडामा सम्पन्न भएको छ । महासंघका अध्यक्ष मोहन कुमार सुनारको अध्यक्षतामा सम्पन्न सो बैठकमा सल्लाहकार समितिका सदस्य तथा महासंघका पदाधिकारीहरुले महासंघको विद्यमान अखवस्था र आगामी दिनमा महासंघले चाल्नुपर्ने कदमका बारेमा प्रकाश पारेका थिए । ...


सुन खरिदमा नयाँ नियम: १० किलोमाथि किन्‍न गभर्नरको स्वीकृति आवश्यक पर्ने

Posted: 2018-10-04 21:18:38

सुनाखरी न्युज/ काठमाडौं- नेपाल राष्ट्र बैंकले १० किलोग्रामभन्दा धेरै सुन र ८० किलोभन्दा धेरै चाँदी खरिद गर्नु परे गभर्नरबाट स्वीकृत लिनुपर्ने नयाँ व्यवस्था गरेको छ। १० किलोसम्म सुन र ८० किलोसम्म चाँदी खरिदका लागि भने डेपुटी गभर्नरबाट स्वीकृत गराउनुपर्नेछ। राष्ट्र बैंकले यस्तो व्यवस्थासहितको सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्य्विधि पारित गरेको छ। ५ किलो सुन र ५० किलो चाँदी खरिद गर्न भने मुद्रा व्यवस्थापन विभागबाट सोझै स्वीकृत लिन सकिने व्यवस्था कार्य्विधिले गरेको छ।...


Advertisements