२०७७ जेठ १६ , शुक्रवार

निक्षेपको ब्याज घट्दा बैंकलाई मालामाल, मर्कामा सर्वसाधारण

ट्रेन्डिङ

Interest rate Down#

निक्षेपको ब्याज घट्दा बैंकलाई मालामाल, मर्कामा सर्वसाधारण

सुनाखरी न्युज/ काठमाडौं-
बैंक तथा वित्तिय संस्थाले निक्षेपको ब्याजदर धमाधम घटाउन थालेका छन् । त्यस अ नुपातमा कर्जातर्फको ब्याजभने घटाएका छैनन । यसरी निक्षेपको ब्याज घटोन तर कर्जाको नघटाउने प्रवृत्तिले बैंकिङ क्षेत्रलाई मालामाल भएपनि सर्वसाधारणलाई भने अप्ठ्यारो भएको छ । राष्ट्र बैंकले कर्जाको ब्याज २ प्रतिशतले घटाउन भने पनि निजी क्षेत्र यसले सन्तुष्ट हुन भने सकेको छैन । उता बैंकहरुले भने कर्जाको ब्याज (आफूले लिनुपर्ने) घट्ने भएपछि निक्षेपको ब्याजदर (आफूले दिनुपर्ने) पनि घटाउन शुरु गरेका छन् ।

 

लकडाउन लम्बिँदै जाँदा यतिबेला मुलुकको अर्थतन्त्रमा चुनौती पनि थपिँदै गएको छ । उद्योग–व्यवसाय धराशायी बनेको भन्दै निजी क्षेत्रले बैंकबाट लिएको कर्जाको ब्याजमा सहुलियत मागिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले पत्रकार सम्मेलन नै गरेर कर्जाको ब्याजमा ५ प्रतिशत सहुलियतको माग राखेको छ । नेपाल राष्ट्र बैंकले चौथो त्रैमासको ब्याजमा २ प्रतिशत सहुलियत दिन बैंकहरुलाई निर्देशन दिएको छ भने चैतमा तिर्ने ऋण असारमा तिरे हुने नियम बनाइदिएको छ ।

 

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख  डा. गुणाकर भट्ट बचतकर्ताहरुलाई प्रोत्साहन गर्नु पर्ने बताउँछन् । निक्षेप कम आउदा त्यसको असर मुलुकको अर्थतन्त्रममा पर्ने भन्दै कार्यकारी अधिकृत भट्ट बैंकहरुको प्रमुख श्रोतको रुपमा रहेको निक्षेपलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

 

बैंक लगानी योग्य रकम अभाव भएका बेला बैंकहरुले निक्षेपमा सर्वसाधारणलाई आकर्षण ब्याज दिन्छन् । तर, यतिबेला बैंकमा लगानी योग्य रकम पर्याप्त भएका कारण पनि बैंकहरुले निक्षेप तान्नका लागि आकर्षक ब्याज होइन, कायम भएको ब्याज पनि घटाउने तरखर गरेका छन् । अहिले कर्जाको माग पर्याप्त नभएकाले निक्षेपको ब्याज घटेको र अव कर्जाको ब्याज पनि घट्ने एक बैंकका प्रमूख कार्यकारी अधिकृतले बताए । महंगोमा निक्षेप लिए, कर्जा पनि महंगो ब्याजदरमा लगानी गर्नुपर्ने भएकाले निक्षेपको ब्याज घटाउनु पर्ने अवस्थामा बैंकहरु पुगेको उनले बताए ।

चैत महिनादेखि निक्षेपको ब्याजदर घट्न शुरु भइसकेको वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स बताउँछ । संघ स्रोतले दिएको जानकारी अनुसार निक्षेपको ब्याजदर १.५ प्रतिशतसम्म घटिसकेको छ । अहिले बैंकहरुले व्यक्तिगत मुद्धति निक्षेपमा ८ दशमलव २५ प्रतिशत ब्याज दिइरहेका छन् । संस्थागतको हकमा भने ७ प्रतिशतमात्रै दिएका छन् भने बचतमा ५.७५ प्रतिशतसम्ममात्रै बैंकहरुले ब्याज दिने गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा निक्षेपको भारित औसत दर ६.६७ प्रतिशत थियो ।

 

वाणिज्य बैंकहरुमा मात्रै चैत महिना यता ७९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार चैत १ गतेसम्म वाणिज्य बैंकहरुमा ३१ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप जम्मा थियो । ११ जेठमा लकडाउन शुरु भयो तर निक्षेप जम्मा हुने क्रम भने जारी नै रह्यो । १ चैतदेखि २ जेठसम्म आइपुग्दा ७९ अर्ब रुपैयाँले बढेर ३२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको संघले जानकारी दिएको छ ।

 

 

Share this news: