२०७७ जेठ १६ , शुक्रवार

मध्यराति छापा मार्न गएका प्रहरी गाउँलेको घेराबन्दीमा

सुरक्षा–अपराध

Capture

मध्यराति छापा मार्न गएका प्रहरी गाउँलेको घेराबन्दीमा

सुनाखरी न्युज/ रौतहट – नक्खु कारागारमा पुर्पक्ष थुनामा रहेका पूर्वमन्त्री एवम कांग्रेस नेता मोहम्मद आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले बिहीबार मध्यराति छापा मारेको छ । आफताबका भाइ महताब आलमको खोजीमा छापा मारेको प्रहरीले उनलाई फेला पार्न भने सकेन । बरु उल्टै सयौं स्थानीयले घेरा हालेपछि कयौं राउन्ड हवाई फायर गर्नुपर्‍यो । प्रहरीका अनुसार महताब घर आएको सूचना पाएपछि बारा र प्रदेश प्रहरी जनकपुरको संयुक्त टोलीले छापा मारेको हो । घरमा तीन–चारवटा सम्म गेट थिए । ती सबै फोडेर भित्र पस्न प्रहरीलाई समय लागेको थियो । तर, गाउँलेले प्रहरीले सर्च गरेको भन्ने नै थाहा पाएनन् ।

 

उनीहरूले तोडफोड भएको सुनेपछि नजिकको मदरसाबाट माइकिङ गरी गाउँलेलाई जम्मा हुन उर्दी गरियो । त्यस क्रममा झन्डै ५ सयको हाराहारीमा गाउँलेले घेराबन्दी गरेको एक सुरक्षा अधिकृतले बताए । आलमका भाइ महताब आएको भन्ने सूचना पाएपछि नियन्त्रणमा लिन गएका हौं, उनले भने, राति गाउँलेले घेरा हालेपछि १२ राउन्ड हवाई फायर गरेर बाहिरियौं । प्रहरीका अनुसार घरमा पूर्वमन्त्री आलमका परिवार सदस्य मात्र सुतेका थिए । आलमका ३ नातेदारको घरमा पनि छापा मारिएको थियो ।

 

प्रहरीको यो शैलीले आलमका परिवार त्रासमा परेको राजपुरका मेयर सेख सकिलले बताए । यो त डकैती शैली भयो । अन्यायको पराकाष्ठा नाघेर प्रहरीले जे मन लाग्यो त्यही गर्न पाउँछ ?  उनले भने, कम्तीमा हामीसित समन्वय गरेको भए सहयोग गर्थ्यौं । यस्तो हर्कतको घोर भर्त्सना गर्छौं । सकिलको घर आलमको घरनजिकै छ । त्यहाँ मुस्लिम समुदायको घना बस्ती छ ।

Share this news: