२०७७ जेठ १८ , आइतवार

अमेरिकन आइडलमा उपविजेता भए दिवेश पोखरेल  

मनोरञ्जन

arthur-dibesh

अमेरिकन आइडलमा उपविजेता भए दिवेश पोखरेल  

सुनाखरी न्युज— नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा उपविजेता बन्न सफल भएका छन् । अमेरिकन आइडलको १८ औं संस्करणको अडिसन राउन्डदेखि नै दिवेशले चर्चा बटुलेका थिए । निर्णायक लियोनल रिचीले दिवेशको गायिकीलाई बब मार्लीसँग दाँजेका थिए । अर्का निर्णायक लुक ब्रायनले पहिल्यै भनिसकेका थिए– ‘मेरो विचारमा दिवेश हामीले अमेरिकन आइडलमा अहिलेसम्म पाएकामध्ये सबैभन्दा ठूलो स्टार हुन सक्छन् ।’

शोको उपाधि जस्ट स्यामले जितेकी छन् । उत्कृष्ट पाँचमा पुगेका अन्य प्रतियोगीभन्दा धेरै भोट पाएपछि स्यामलाई विजेता घोषणा गरिएको हो । कोरोना भाइरसको त्रास छाइरहेका बेला दिवेशको यो उपलब्धिले नेपाली समुदायमा उत्साह छाएको छ । हाल अमेरिकाको कान्सास, विचिटामा बस्ने दिवेशको स्टेज नेम ‘आर्थर गन’ हो । यो शो एबिसी टेलिभिजनबाट प्रसारण भएको थियो । कोभिड–१९ का कारण सबै प्रतियोगीले घरबाटै प्रस्तुति दिएका थिए ।

दिवेशले स्टेज नेम ‘अर्थर गन’ दुई वर्षअघि आफैंले जुराएका हुन् । त्यतिबेला उनी अठारौं शताब्दीका प्रभावशाली कवि अर्थर रिमवोडका कविताहरु पढ्दै थिए । ‘मलाई अर्थरका शब्दहरु निकै आधुनिक लाग्यो र उनकै नामबाट स्टेज नेम राखें । यो नाम सजिलो पनि छ जस्तो लाग्छ,’ दिवेशले प्रस्ट्याएका छन् ।

दिवेश काठमाडौंमै जन्मिए, हुर्किए, उनी बच्चैदेखि गुन्गुनाउँथे, गिटार बजाउन खोज्थे, जबकी उनको परिवार र आफन्त कोही संगीत क्षेत्रमा थिएनन् । उनले भनेका छन्, ‘मैले मेरो पहिलो गिटार आमाबाट पाएँ । रेडियो, टिभी जहाँ जुन गीत सुने पनि सँगै गाइहाल्थें । त्यहीँबाट गाउने सपना सुरु भयो ।’ उनको परिवार सन् २००८ मा अमेरिका बसाइँ सर्‍यो तर पढाइका कारण उनीचाहिँ सन् २०१४ तिर अमेरिका गए । जतिबेला उनले गायनलाई गम्भीर रुपमा अँगालिसकेका थिए ।

धेरैलाई थाहा नहुनसक्छ, दिवेशले पब र कफिसपमा पनि गाएका छन् । सन् २०१८ मा उनले डेब्यु एल्बम ‘ग्रहण’ सार्वजनिक गरे । यसमा आठ नेपाली गीत छन् । अर्को वर्ष ‘खोज’ एल्बम ल्याए । यसको शिर्षसहित ‘म…’ र ‘कर्णाली…’जस्ता गीतले धेरथोर चर्चा कमाए । बब डिलन, निक डार्क र बुक्का ह्‍वाइटलगाएतका संगीतकर्मी उनका आर्दश हुन् । उनले संगीतको औपचारिक शिक्षा भने लिएका छैनन् ।

 

Share this news: