२०७७ जेठ १६ , शुक्रवार

अर्को व्यवस्था नभएसम्मका लागि शेयरबजार बन्द गर्न नेप्सेलाई बोर्डको निर्देशन

शेयर

अर्को व्यवस्था नभएसम्मका लागि शेयरबजार बन्द गर्न नेप्सेलाई बोर्डको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं – नेपाल धितोपत्र बोर्डले नेप्सेलाई शेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ। बोर्डले बिहीबार अर्को व्यवस्था नभएसम्मका लागि शेयर कारोबार बन्द गर्न निर्देशन दिएको बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले जानकारी दिए । कोरोनाको बढ्दो संक्रमणका कारण बजार बन्द गर्ने निर्णय गरिएको उनले बताए। यता नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि बढ्दो कोरोना संक्रमणका कारण बजार बन्द गर्ने निर्णय भएको बताएका छन्।

 

‘आजदेखि लकडाउन पनि बढी हुने भयो। आवतजावत गर्न पनि बन्द भयो। काठमाण्डौमा पनि कोरोनाको विरामी देखिए र हस्पिटलसम्म पनि कोरोनाको विरामी देखिए भनेपछि यो त झन विकराल अवस्था आउनेभयो। लगानीकर्ताको स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने अवस्था आयो। र धेरैजसो लगानीकर्ताको भनाई पनि बजार बन्द गर्नुपर्ने थियो। दुई दिन बजार खोल्दा पनि अचाक्लि किसिमले जति सर्किट ब्रेकर तोकिएको थियो त्यहीअनुसार घटेर बजार बन्द भयो। त्यही कारणले गर्दा धितोपत्र बोर्डले त्यही अनुसार निर्देशन दिएकाले बजार बन्द गर्ने निर्णय गरिएको हो,नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने ।

 

यस निर्णयसँगै लगानीकर्ताहरुले पछिल्ला दुई दिनमा भएका कारोबार रद्द गर्नुपर्ने भन्दै आक्रोश व्यक्त गर्न थालेका छन्। यद्यपि, हालसम्म सो विषयमा कुनै निर्णय नभएको र छलफल गरेर टुङ्गो लगाउने साउदले बताए। चैत ११ गतेदेखि बन्द भएको शेयर कारोबार गत मंगलबार बैशाख ३० गते देखि साविकका नियमहरुमा केही परिवर्तन गरी दैनिक २ घण्टाका लागि बजार खोलिएको थियो। कारोबार भएका दुबै दिन नेप्से नकारात्मक सर्किट लागि तोकिएको अवधिभन्दा अगावै बन्द भएको थियो।

Share this news: