२०७६ फाल्गुन १७ , शनिवार

फस्टाउँदै मनपरी तन्त्र, कमिसन वृद्धि माग गर्दै हवाई इन्धन ढुवानी ठप्प

NOC Oil

फस्टाउँदै मनपरी तन्त्र, कमिसन वृद्धि माग गर्दै हवाई इन्धन ढुवानी ठप्प

सुनाखरी न्युज/

काठमाडौँ —पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भए पनि व्यवसायीले आफूहरूका माग पूरा गराउन पटकपटक बन्द–हडताल गर्दै आएका छन् । तीन दिनदेखि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन हवाई इन्धन एकाइ समितिले पनि हवाई इन्धन ढुवानी ठप्प पारेको छ । समितिले नौबुँदे माग राख्दै इन्धन ढुवानी बन्द गरेको हो । अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन–०१७ मा अत्यावश्यक वस्तु आपूर्तिमा बन्द–हडताल गर्न नपाइने उल्लेख छ ।

आपूर्ति बन्द गरेको अवस्थामा हदैसम्म (आजीवन जेल सजायसमेत) कारबाही हुन सक्छ । पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–०७३ ले पनि बन्द–हडताल निषेध गरेको छ । विनियमावलीअनुसार ढुवानीकर्ताले ढुवानी गर्न डिपोबाट बुझी लिएको पेट्रोलियम पदार्थको गुणस्तरमा फरक परे, ट्यांकरट्रकले निगममा बुझाउनुअघि बाटोमा वा अन्य ठाउँमा पेट्रोलियम पदार्थ चोरी गर्दाकै अवस्थामा फेला परेमा, असम्बन्धित पदार्थ ढुवानी गरे वा गराएमा निगमले ३ महिनासम्म निलम्बन गर्न सक्छ । तर निगम नियम कार्यान्वयनभन्दा व्यवसायीको दबाबमा झुक्न थालेपछि व्यवसायीको मनोबल बढ्दै गएको छ, जसकारण आफ्नो स्वार्थ पूरा गर्न पटकपटक अत्यावश्यक पदार्थको ढुवानी बन्द भएको जानकारहरू बताउँछन् । तर व्यवसायीको दबाबमा निगम निरीह बन्दै गएको छ ।

चालकको जायज माग पूरा गरिने निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । तर विनियमावलीविपरीत भने गर्न नसकिने उनको भनाइ छ । पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले पनि चालकका जायज माग पूरा गर्नुपर्नेमा जोड दिए । लकिङ प्रणाली जडान गर्ने बेला तत्कालीन आपूर्तिमन्त्री मातृका यादवले समेत सहमति जनाएकाले चालकको माग पूरा हुनुपर्ने उनको भनाइ छ ।

हाल करिब १ सय ८१ ट्यांकरमार्फत हवाई इन्धन ढुवानी भइरहेको प्रवक्ता गोइतले जानकारी दिए । ‘निरीक्षण गर्दा १२ ट्यांकरमा ७० देखि ९० लिटर कम तेल देखिएको थियो,’ उनले भने, ‘वास्तविक नोक्सान हो कि होइन भनेर अध्ययन गर्छौं ।’ यही विषयमा चालक आन्दोलित भएका हुन् । विनियमावलीअनुसार चलानीमा तोकिएको परिमाण तथा गुणस्तरअनुसारको पेट्रोलियम पदार्थ सोही परिमाण तथा गुणस्तरमा तोकेको ठाउँसम्म पुर्‍याउने जिम्मेवारी ढुवानीकर्ताको हुन्छ ।

 

Share this news: