२०८१ बैशाख ११ , मंगलबार

युक्रेनमा थप ३ लाख सैनिक खटाउने रुसको घोषणा

सुनाखरी न्युज/ मस्को ।

रुसले युक्रेनमाथिको आक्रमणलाई थप तिव्रता दिने भएको छ । जसका लागि ३ लाख अतिरिक्त सैनिक परिचालन गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् । बुधबार देशवासीका नाममा टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनमाथिको ‘सैन्य कारबाही’ लाई तीव्रता दिन अतिरिक्त सैन्य शक्ति परिचालन गर्न लागिएको स्पष्ट पारेका हुन् । जसको अर्थ युक्रेनमा अब हालको भन्दा उच्च क्षमतामा रुसी सैन्य शक्ति र हतियार प्रयोग हुनेछन् ।

‘मुलुकको क्षत्रीय अखण्डतालाई कायम राख्न र रुसले नियन्त्रणमा लिएका युक्रेनी भू–भागका बासिन्दाको सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालिएको हो,’ उनले भनेका छन्, ‘शान्तिपूर्ण निकासका लागि किभ तयार नहुनु हाम्रासामु मुख्य समस्या भएको छ ।’

 

कुल २९ लाख सैनिक रहेको रुसमा अहिले ९ लाख मात्रै सक्रिय सेवामा छन् । यसअघि कुनै पनि समय सैन्य सेवामा रहेका करिब २० लाख जगेडा सैनिकमध्ये अहिले ३ लाख जनालाई सेवामा फिर्ता बोलाई युद्धमा परिचालन गर्न लागिएको हो । रुसी रक्षामन्त्री सेर्गेइ सोइगुले भने कुल जगेडा सैनिक स्रोतमध्ये हाल १ प्रतिशत मात्रै परिचालन गर्न लागिएको बताएका छन् । उनका अनुसार कुन उमेर समूह र सेवाबाट निवृत्त भएका व्यक्ति परिचालन गरिने पूर्ण तय भइसकेको छैन । तर, पहिलो चरणमा विद्यार्थीलाई भने सामेल गराइने छैन । उनले हालै मात्र सैन्य सेवाबाट निवृत्त भएका व्यक्तिलाई मात्रै परिचालन गर्ने तयारी रहेको संकेत भने गरेका छन् ।

रुसी संसद् दुमाका सदस्य येवगेनी पोपोवले पनि हालै मात्र सैन्य सेवाबाट निवृत्त भएका व्यक्तिलाई नै पहिलो प्राथमिकतामा राखिने बताएका छन् । ‘यो सर्वसाधरणलाई युद्ध मैदानमा पठाउने प्रस्ताव होइन,’ बीबीसीसँगको कुराकानीमा उनले भनेका छन् । रक्षामन्त्री सोइगु र प्रधानसेनापतिकै प्रस्तावमा राष्ट्रपति पुटिनले सैनिक परिचालनको प्रस्तावमा हस्ताक्षर गरेका हुन् । ‘यो निर्णय आज ९बुधबार० कै दिनदेखि लागू हुनेछ,’ पुटिनले भनेका छन् ।

यता, रुसको तुलनामा सैन्य शक्तिमा युक्रेन निकै कमजोर देखिन्छ । तर अमेरिका, बेलायतलगायत पश्चिमा शक्ति राष्ट्रहरूको पूर्ण समर्थन र सहयोगमा युक्रेनले गत फेब्रुअरी २४ बाट सुरु रुसी सैन्य कारबाहीको सामना गरिरहेको छ । मिलिटरी ब्यालेन्स २०२२ को तथ्यांकअनुसार युक्रेनमा कुल १० लाख ९६ हजार ६ सय जना सैनिक छन् । जसमध्ये १ लाख ९६ हजार ६ सय जना मात्रै सक्रिय छन् । बाँकी ९ लाख जगेडा सैनिक हुन् ।

एजेन्सी