२०८१ बैशाख १३ , बिहिवार

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

 

सुनाखरी न्युज / तालिबान सरकारले अफगानिस्तानमा टिकटक र पब्जीमा प्रतिबन्ध लगाउने भएको छ। तालिबानले आगामी ३ महिनाभित्रै अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो। सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ ।

 

अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धि सूचना सेयर गरेका छन र तोकिएको समयमा निर्देशिका पालना गर्न पनि भनिएको छ । तालिबान सरकार केही समय अघिदेखि नै यी दुई एपमा पनि प्रतिबन्ध लगाउने पक्षमा थियो। सोमबार भने तालिवान नेतृत्वको दूरसञ्चार विभागले यी एपहरूमा प्रतिबन्ध घोषणा गरेको हो।

 

विभागका अनुसार अबको एक महिनाभित्र टिकटक र तीन महिना अर्थात ९० दिनभित्र पब्जीमा प्रतिबन्ध लगाइनेछ। अफगानिस्तानको दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूले प्रतिबन्धसम्बन्धि जानकारी गराइरहेका छन्। अफगानिस्तानमा तालिवान सरकार आएसँगै हालसम्म सयौं मिडिया र वेबसाइटहरू बन्द भइसकेका छन् ।

 

तालिवान दूरसञ्चार मन्त्रालयका अनुसार हालसम्म सरकारले दुई करोड ३५ लाख बढी विभिन्न विधाको वेबसाइट ब्लक गरिसकेको छ तालिवानले यसपटक प्रतिबन्ध लगाउने भनेको सामाजिक सञ्चाल टिकटक एक भिडिओ सेयरिङ प्लेटफर्म हो। पब्जी एक भर्चुअल गेम हो। यी दुवैको लोकप्रियता संसारभर छ।