२०८१ बैशाख ८ , शनिवार

डेंगीलाई ‘राष्ट्रव्यापी प्रकोप’ घोषणा गर्न पत्राचार

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं उपत्यकालगायत देशभर डेंगी संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्रकोप घोषणा गर्न  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । नियन्त्रणका लागि र्‍यापिड एक्सन प्लान बनाउन पनि ईडीसीडीले मन्त्रालयलाई आग्रह गरेको छ । ईडीसीडी महामारी हेर्ने सरकारको आधिकारिक निकाय हो ।

पछिल्ला दिनमा डेंगीको संक्रमण देशव्यापी बनेको छ । सोमबारसम्म देशभर १७ हजार ४ सय ९४ जनामा डेंगी पुष्टि भएको छ । डेंगीले यो वर्ष २१ जनाको मृत्यु भइसकेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै कुल संक्रमणको ५८।६७ प्रतिशत संक्रमित छन् । काठमाडौंमा पछिल्लो १९ दिनमा सबैभन्दा बढी ३ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएको छ ।

 

‘ललितपुरमा उछिन्दै अब मुलुकमै सबैभन्दा बढी डेंगी संक्रमित देखिएको जिल्ला काठमाडौं भएको छ, त्यसमा पनि काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी संक्रमण छ,’ ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले भने, ‘जुलाई अघिसम्म खासै डेंगी थिएन, संक्रमणले बिस्तारै गति लिँदै सेप्टेम्बरदेखि व्यापक भएको हो ।’ ललितपुरमा सेप्टेम्बरको १९ दिनमा ३ हजार २ सय २० मा संक्रमण पुष्टि भएको छ ।

संक्रमण बढेसँगै अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनेमध्ये ९० प्रतिशत डेंगीका बिरामी छन् ।