२०८१ बैशाख ६ , बिहिवार

अदालतको आदेशपछि पनि टुकुचाका संरचना हटाउँदै महानगर

सुनाखरी न्युज/ काठमाडौं । टुकुचा खोलामाथि निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाले जारी राखेको छ । पाटन उच्च अदालतले टुकुचामाथिको अनधिकृत संरचना नहटाउन आइतबार आदेश दिएको थियो ।

तर महानगरले अदालतको आदेशबारे केही जानकारी नआएको जनाएको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अदालतले जारी गरेको आदेशको लिखित जानकारी आफूले नपाएको बताए । उनले भने, ‘अदालतले के निर्देशन दिएको हो त्यसबारेमा हामीलाई जानकारी छैन । बाहिर आएको कुरा सही हो कि गलत हो भन्ने जानकारी पत्र नआइकन भन्न सकिँदैन । ’

 

उनले अदालतको आदेश सम्बन्धमा कार्यालयमा कुनै जानकारी नआएको र अदालतको सम्मान आफूहरुले गर्ने बताए । टुकुचाको अतिक्रमण हटाउनका लागि महानगरले अहिले कमलादीको लक्ष्मी बैंक उत्तरतर्फ निर्माणाधीन भवन नजिकै डोजर चलाइरहेको छ ।