२०८१ बैशाख ११ , मंगलबार

शिक्षासेवी थापालाई जनसेवा श्री विभुषण

शिशिर पौडेल / पोखरा । पोखराका शिक्षासेवी एवं सामाजिक अभियन्ता चन्द्रा कुमारी अधिकारी थापालाई जनसेवा श्री विभुषण प्राप्त भएको छ।

 

संविधान दिवसका अवसरमा सरकारले सार्वजनिक गरेको पदक तथा बिभुषण विवरणमा पोखरा १६ लामाचौर निवासी थापालाई राष्ट्रपतिबाट प्रदान गरिने सो विभुषण प्राप्त भएको उल्लेख छ। देशकै उत्कृष्ट मध्येको पहिलो सामुदायिक विद्यालय विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेकी थापालाई शिक्षा तथा समाज सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत सो सम्मानित विभुषण प्रदान गरिएको बताइएको छ।

 

दुई कार्यकाल विद्यालयकाे अध्यक्ष भएर त्यहाँकाे शैक्षिक तथा भौतिक विकासमा उच्च भुमिका निर्वाह गर्नुभएकी थापाले सम्मानित राष्ट्रपतिबाट उक्त पदक प्राप्त गर्ने खबरले आफुलाई शिक्षा तथा सामाजिक कार्यमा थप सक्रिय हुने उर्जा मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो । थापाकै कार्यकालमा विद्यालय देशकै उत्कृष्ट पहिलो सामुदायिक विद्यालय वन्न सफल भएको छ भने भुकम्पीय जोखिममा रहेको पुरानो भवन हटाएर नयाँ ३२ कोठे पक्की भवन निर्माण भएको छ। महेन्द्र गुफा तथा चमेरे गुफाको विकास गुरुयोजना निर्माण गरी कार्यान्वयनमा समेत गएको छ।

पछिल्लो समयमा विद्यालयले शैक्षिक गुणस्तर तथा भौतिक निर्माणमा फड्को मारेको छ। अध्यक्ष थापाले सम्मानित विभुषण प्राप्त गरेकोमा विद्यालयले समेत खुसी व्यक्त गरेकाे छ।सोमबार संविधान दिवसका दिन सार्वजनिक भएको विभुषण तथा पदक आगामी वैशाख १ गते विशेष समारोहका बीच राष्ट्रपतिले प्रदान गर्नुहुने बताइएको छ।