२०८१ बैशाख ७ , शुक्रवार

संविधान दिवसका अवसरमा ९९८ जनालाई विभूषण

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ ।

 

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्नुहुने व्यक्तित्वको नामावली सार्वजानिक गरिएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरेर मानपदवीतर्फ नेपाल रत्न एक, राष्ट्र गौरव तीन, सुप्रसिद्ध प्रबल नसेवाश्री एक, प्रसिद्ध प्रबल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७, सुप्रबल जनसेवाश्री एक सय ६५, कीर्तिमय राष्ट्रदीप छ, प्रबल जनसेवाश्री तीन सय २२, राष्ट्रदीप दुई, जनसेवाश्री दुई सय सातलाई विभूषण हुने जनाउनुभएको छ ।

यस्तै अलङ्कारतर्फ राष्ट्र यशोवर्द्धक १०, परम पौरख भास्कर दुई, नेपाल प्रताप सुभूषण ३८, नेपाल सेवा प्रवीण २३, अतिपौरख भाष्कर आठ, नेपाल प्रताप आभूषण १९, समाजसेवा रत्न ३८, महापौरख भाष्कर १८ र नेपाल प्रताप भूषण २३ जनालाई प्रदान गरिनेछ । पदकतर्फ राष्ट्रसेवा पदक प्रथम श्रेणी छ, शिक्षाज्योति पदक १८, सगरमाथा पदक १३, सुकीर्ति पदक १२, वीरता पदक आठ, सौर्य पदक एक, प्राकृतिक प्रकोप पीडितोद्धार पदक सात, विकास रत्न पदक १६ जनालाई दिने घोषणा गरिएको छ ।

 

महजोडीसहित १७ जना सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित

मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित भएका छन् । उहाँहरुसहित १७ जना यो पदकबाट सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा नीर शाह, राजेश हमाल, गङ्गाप्रसाद उप्रेती, तिलविक्रम नेम्वाङ (वैरागी काइला) नन्दकृष्ण जोशी, उन्नती बोहरा (शिला), चन्द्र ढकाल, पशुपति मुरारका, प्रा. श्रीमती भूषण श्रेष्ठ, नरबहादुर कंडेल, एकनारायण अर्याल, डा. पेमनारायण कंडेल, कृष्णहरि पुस्कर, लीलादेवी गडतीला र कुलमान घिसिङ् रहनुभएको छ ।

 

त्यसैगरी संस्कृतिविद् डा. जगमान गुरुङ्लाई सुप्रसिद्ध प्रबल जनसेवाश्री र टेकबहादुर मोक्तान, इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर ज.ब.राणा, स्व.भागवत यादव, स्व. मेघराज उपाध्याय, स्व. सरदार भीमबहादुर पाण्डे, सूर्यप्रसाद सुवेदी, स्व. ठाकुरप्रसाद बगाना, स्व. हरिभक्त वली, स्व. प्रभाकरशमसेर जबरा, स्व. काशीप्रसाद श्रीवास्तव र सिगेरु सुगानामीलाई प्रसिद्ध प्रबल जनसेवाश्रीबाट सम्मानित गर्ने घोषणा गर्नुभएको छ । त्यसैगरी पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने [आश्रित], मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गर्ने घोषणा भएको छ ।