२०८० चैत्र १६ , शुक्रवार

उम्मेदवार छनौटका आधारबारे अन्तरक्रियात्मक गोष्ठी

सुनाखरी न्युज/ पोखरा । राजनीतिशास्त्र सोसाइटी नेपालले ‘संविधान कार्यान्वयन सम्बन्धमा आसन्न निर्वाचनमा उम्मेदवार छनोटको आधार’ शिर्षकमा अन्तरक्रियात्मक गोष्ठी आयोजना गरेको छ । पोखरा १ बगरमा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री खगराज अधिकारीले नेपालको लोकतान्त्रिक संघिय व्यवस्था राम्रो भएको दावी गरे । अहिलेपनि देश संविधान कार्यान्वयनकै क्रममा रहेको भन्दै उनले सकारात्मक पक्षहरु भन्दा नकारात्मक कुराहरुको बढी उजागर हुँदा संघियताका विषयमा नकारात्मक टिप्पणी हुन थालेको बताए । केही व्यक्तिहरु नराम्रा भए भन्दैमा व्यवस्थाकै विरोध गर्न नहुने उनको भनाई थियो ।

 

संस्थाका अध्यक्ष सुवास ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद मोहन रेग्मी, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाही, जनप्रिय क्याम्पसका सहायक क्याम्पस प्रमुख भेषराज वराल, जिल्ला सम्वन्वयन समिति कास्कीको कार्यकारी अधिकृत नवराज वराल, पोखरा १ का वडाध्यक्ष सहारा प्रधान, नेकपा एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, नेपाली कांग्रेसका नेता आनन्दराज मुल्मी, राप्रका डा. सूर्य बहादुर गुरुङ, नेपाल समाजवादी पार्टीको जिल्ला इन्चार्ज टिकाराम पौडेल, राष्ट्रिय स्वतन्त्रवाट जिल्ला अध्यक्ष विष्णु गुरुङ एकता लगायतका नेताहरुले आफ्नो धारणा प्रस्तुत गरे । कार्यक्रममा स्वागत सोसाइटीका उपाध्यक्ष फरेन्द्र थापा, धन्यवाद सह–सचिव डा. संजय कोईराला र संचालन सचिव मिलन आलेले गरेका थिए ।

 

राजनीतिशास्त्र सोसाइटी नेपालको स्थापनाको उद्देश्यका बारेमा संस्थाका सल्लाहकार समेत रहेका वरिष्ठ अधिवक्ता माधवराज वास्तोलाले प्रकाश पारे । कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. गिरधारी दाहालले नेपालका संविधानको इतिहास र आसन्न निर्वाचनमा उम्मेद्वार छनौटका आधारका विषयमा आफ्ना भनाईहरु राखे । कार्यपत्रमा टिप्पणी गर्दै प्रा. डा. उमानाथ बरालले हाल राजनीतिलाई सेवा भन्दा पेशा बनाईएको, पैसाको वलमा चुनावमा टिकट पाउने र जित्ने प्रवृत्ति रहेको, वारम्बार एउटै व्यक्तिहरु चुनावमा उठ्ने लगायतका कारण योग्य व्यक्तिहरु उच्च राजनैतिक पदमा पुग्न नसकेको र राजनीतिमा सुधार हुन नसकेको बताए ।

 

राजनीतिशास्त्रका प्राध्यापक गजेन्द्र प्रसाद च्वाईले राजनीति गर्ने व्यक्तिमा नैतिकता र सादगीपन एकदमै आवश्यक रहेको औल्याए । अहिलेका राजनैतिक दलका नेताहरु विलासी जीवन व्यतित गर्ने तर भन्ने बेलामा देश र जनताको लागि राजनीति गरेको भन्ने कुरा एकदमै नमिल्ने उनको जिकिर थियो । राजनीतिशास्त्र बिभागका विभागीय प्रमुख प्रा.थान बहादुर क्षेत्रीले अहिलेका राजनैतिक दलहरु कुनै दर्शनबाट नभै बिचौलियाद्वारा चलेको दावी गरे । गोष्ठीमा सहभागीहरुका जिज्ञासाहरु सम्बन्धित विज्ञहरुले सम्बोधन गरेका थिए ।

 

अन्तरक्रियात्मक गोष्ठीमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेको थियो । सोही कार्यक्रम मार्फत पोलिटिकल साईन्स सोसाइटी नेपालले ५ बुँदे घोषणा पत्र समेत जारी गरेको छ । कार्यक्रममा सोसाईटीका सह–कोषाध्यक्ष क्या.सन्त बहादुर लामिछाने नेपालकै पहिलो हट एअर बेलुनका प्रविधिक बन्न सफल भएको र संस्थाका सल्लाहकार एवम् विधान मस्यौदा समितिका संयोजक माधवराज बास्तोला हालै वरिष्ठ अधिवक्ता भएकोमा सोसाइटीले सम्मान समेत गरेको थियो ।