२०८० चैत्र १६ , शुक्रवार

भद्र सहमति तोड्दै वाणिज्य बैंकहरुले बढाए ब्याजदर

सुनाखरी न्युज/ काठमाडौं । बैंकहरुले ६ महिनापछि असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएका छन्। बैंकहरुले असोजमा भद्र सहमति भंग गर्दै आआफ्नै ढंगले ब्याजदर निर्धारण गर्ने निर्णय गरेका थिए। नेपाल बैंकर्स एसोसिएसनले पनि यसका लागि बाटो खुला गरिदिएको थियो।

 

सबै वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदरमा औसतमा १० प्रतिशतले बढाएका छन्। जसअनुसार उनीहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १२.१३ प्रतिशत, संस्थागतमा १०.१३ र रेमिट्यान्समा १३.१३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। केही वाणिज्य बैंकहरुले भने ३ महिनासम्मको व्यक्तिगत मुद्दति निक्षेपमा १२.०३ प्रतिशत, संस्थागतमा १०.०३ प्रतिशत र रेमिट्यान्समा १३.०३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

 

वाणिज्य बैंकहरुले पछिल्लोपटक गत फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत कायम गरेका थिए । त्यसपछि बैंकहरुले लगातार ६ महिना अर्थात भदौसम्म सोही ब्याजदरनलाई निरन्तरता दिँदै आएका थिए। यस्तै, विकास बैंकहरुले पनि आफ्नो ब्याजदर वृद्धि गरेका छन् । विकास बैंकहरुले ब्याजदर बढाएर ब्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा ११ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएका हुन् ।

 

यस्तै, फाइनान्स कम्पनीहरुले पनि ब्यक्तिगत मुद्दती निक्षेपमा १३.४७ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११.४७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएका छन् । शुक्रबार अर्थात् भदौको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाहरुले सूचना प्रकाशन गरी ब्याजदर बढाएको जानकारी गराएका हुन् ।