२०८१ बैशाख ७ , शुक्रवार

नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच सम्झौता-पत्रमा हस्ताक्षर

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच नेपाल प्रहरी अन्तर्गतका कार्यालयहरूमा योगाभ्यास गराउने सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।

 

नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौर र पतंजलि योग समिति नेपालको तर्फबाट सोही समितिका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रले उक्त सम्झौता-पत्रमा हस्ताक्षर गरी उक्त सम्झौता-पत्र आदानप्रदान समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरूले योगको माध्यमबाट थप उर्जा प्राप्त गरी सक्रियताका साथ सेवा प्रवाहमा लाग्ने विश्वास व्यक्त गर्नुभयो । सम्झौतापत्रमा हस्ताक्षर हुनुपूर्व पनि नेपाल प्रहरी प्रधान कार्यालय र विभिन्न तालिम प्रदायक कार्यालयहरूले योगाभ्यास गराउँदै आइरहेको चर्चा गर्दै आगामी दिनमा नेपाल प्रहरीले संस्थागत रूपमा योगाभ्यासका लागि प्रहरीबाटै दक्ष जनशक्ति उत्पादन गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

 

कार्यक्रममा पतंजलि योग समिति नेपालका संरक्षक एवं पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले नेपाल प्रहरी र पतंजलि योग समितिबीचको सहकार्य एवं समन्वयमा विगतमा समेत विभिन्न योगाभ्यास गराउँदै आएको चर्चा गर्दै यो सम्झौता मार्फत आगामी दिनमा प्रहरी कर्मचारीहरू योगाभ्यासमा थप सहभागी हुने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौरले शारीरिक, मानसिक र आत्मिकरूपमा स्वस्थ्य हुन योगाभ्यास महत्वपूर्ण हुने भएकोले यस सम्झौतामार्फत प्रहरी कर्मचारीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

 

सम्झौता अनुरूप नेपाल प्रहरी अन्तर्गतका तोकिएका कार्यालयहरू तथा तालिम प्रदायक निकायहरूमा संचालित तालिमका प्रशिक्षार्थीहरूलाई योगाभ्यास गराउने र तालिम प्रदायक निकायहरूमा योग प्रशिक्षक प्रशिक्षण गराउने लक्ष्य रहेको छ । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू एवं पतंजलि योग समिति नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।