२०८० चैत्र १५ , बिहिवार

हट्यो ब्याजदरबारेको ‘भद्र सहमति’, अब बैंकहरुले आफूअनुकुल ब्याजदर तोक्न पाउने

सुनाखरी न्युज/ काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपमा ब्याजदर नबढाउने गरी विगत ६ महिनादेखि गर्दै आएको भद्र सहमति खारेज गरेको छ । संघको कार्यसमिति बैठकले ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णय गरेको हो ।

 

गत फागुन देखि नै बैंकहरुले निक्षेपको ब्याज बढाएका छैनन्। सबै बैंकले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिँदै आएका थिए। तर केहि बैंकले भद्र सहमति तोडेर धेरै ब्याज दिन थालेपछि बैंकर्स सँघले ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णय गरेको हो।

 

अब बैंकहरुले असोजको लागि आफैले ब्याजदर निर्धारण गर्न सक्ने छन्। तर राष्ट्र बैंकले अघिल्लो महिनाको औसत ब्याजदरको १० प्रतिशत मात्रै बढाउन पाउने व्यवस्था गरेकोले असोजमा बैंकहरुले अधिकतम १२.१३ प्रतिशत ब्याजदर कायम गर्न पाउने छन्।