२०८० चैत्र १५ , बिहिवार

आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा

सुनाखरी न्युज/ काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याएको छ।

 

नेपालमा मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहित थप व्यवस्थित गर्न प्राधिकरणले एमडीएमएस कार्यान्वयनमा ल्याएको हो। यो प्रविधिक सञ्चालनमा आएसँगै चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सकिने प्राधिकरणले जनाएको छ।

 

प्राधिकरणका अनुसार आज भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तरबरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ। भदौ ३० गतेपछि मोबाइल खरिद गर्दा दर्ता भए वा नभएको यकिन गरी मात्र खरिद गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। बिना दर्ताका मोबाइल सेट नचल्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ।

 

यसैगरी मोबाइल आयातकर्ता तथा बिक्रेताहरुले पनि मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्रीवितरण गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।