२०८० चैत्र १५ , बिहिवार

महावीर पुनलाई १ करोड धनराशिको ‘भवन कीर्ति रत्न पुरस्कार’

सुनाखरी न्युज/ काठमाडौं । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ ।

 

मंगलबार गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले एउटा मात्रै आविष्कार केन्द्रहरु नभइ धेरै भन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताउनुभयो ।

 

आविष्कार केन्द्रहरु खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उहाँको भनाइ थियो । देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरु रोजगारीको लागि बाध्य भएर विदेश जानु नपर्ने बताउनुभयो । उहाँले आविष्कार केन्द्रहरुलाई उच्च प्राथमिकता नदिने हो भने देशको उन्नती कहिल्यै नहुने दाबी गर्नुभयो । अध्यक्ष पुनले हाईवे, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउनुभयो । उहाँले अर्थतन्त्र बिग्रिएको खण्डमा सबै क्षेत्रमा तहसनहसको अवस्था बन्ने बताउनुभयो ।

 

कार्यक्रममा ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले नेपाल प्रत्येक वर्ष गरिब बन्दै गएको बताउनुभयो । उहाँले दक्षिण एशियामा विकासको ठूलो नारा दिएपनि सबैभन्दा गरिब मुलुकमा स्थपित रहेको दाबी गर्नुभयो । उहाँले विकासप्रति चिन्तनशील हुन जरुरी रहेको बताउनुभयो । बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गर्नुभएको हो । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ ।