२०८० चैत्र १५ , बिहिवार

मानव विकास सूचकाङ्कमा स्वीजरल्यान्ड पहिलो, नेपाल १४३ औं स्थानमा

सुनाखरी न्युज/ काठमाडौं । मानव विकास सूचकाङ्कमा नेपाल १४३ औं स्थानमा परेको छ । संयूक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी) ले सोमबार सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२१/२२’ अनुसार नेपालको मानव विकास सूचकाङ्क ०.६०२ अंक छ ।

 

प्रतिवेदनअनुसार नेपालको प्रतिव्यक्ति औसत आयु ६८.४ वर्ष रहेको छ । स्वीजरल्यान्ड ०.९६२ अंकसहित मानव विकास सूचकाङ्कमा पहिलो स्थानमा छ । नर्वे दोस्रो र आइसल्याण्ड तेस्रो स्थानमा छन् । हङकङ चौथो, अस्ट्रेलिया ५ औं, डेनमार्क छैठौं र सातौं नम्बरमा स्वीडेन छ । आयरल्यान्ड आठौं, जर्मनी नवौं र नेदरल्यान्ड दशौं नम्बरमा छन् ।

 

संयूक्त राष्ट्रसंघले १९१ मुलुकको विवरण सार्वजनिक गरेकोमा दक्षिणी सुडान सबैभन्दा पुछारमा छ । दक्षिण एसियाली मुलुकहरुमध्ये श्रीलंका ७३ औं स्थानमा, माल्दिभ्स ९० औं स्थानमा र भुटान १२७ औं स्थानमा रहेका छन् । त्यस्तै बंगलादेश १२९, भारत १३२, पाकिस्तान १६२ र अफगानस्थान १८० औं स्थानमा रहेका छन् ।