२०८१ बैशाख १३ , बिहिवार

‘नाडा इभी एक्स्पो २०२२’ हुँदै, सहयोगी संस्थाको रूपमा विद्युत प्राधिकरण

सुनाखरी न्युज/ काठमाडौं । अटोमोबाइल्स एशोशियसन अफ नेपालले आउँदो असोज ६ गतेदेखि ९ गतेसम्म ‘सिएटद्वारा प्रायोजित नाडा इभी एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ।

 

नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ-संस्थाहरूको उपस्थितिमा प्रदर्शनी गर्ने भएको हो। नाडाले पत्रकार सम्मेलनमार्फत एक्स्पोको घोषणा गरेको हो। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रूपमा सहभागी छ। कार्यक्रममा युएसएआइडी क्लिन एयरले नलेज पार्टनरको रूपमा इभी चौतारी नामक तीन दिने सुचनामूलक गोष्ठीको सञ्चालन गर्ने भएको छ। एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर र सह-प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी छन्। यसको डिजिटल पेमेन्ट पार्टनर खल्ती एप हो। एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गर्दैछ।

 

आज भएको सम्मेलनमा नाडाका अध्यक्ष ध्रुव बहादुर थापाले नेपालमा विद्युतीय सवारी साधनबारे चासो बढेको बताए। उनले हाल बजारमा आयात भइरहेको सवारीमध्ये १० प्रतिशत विद्युतीय सवारी साधन रहेको बताए। ‘अबको ५ वर्षमा यो वृद्धिदर बढेर ५० प्रतिशत हुने अनुमान लगाउन सकिन्छ,’ उनले कार्यक्रममा सम्बोधन गर्दै भने। त्यस्तै, नाडा इभी एक्स्पो समितिका सभापति अनुप कुमार बरालले असोजमा हुन लागेको एक्स्पोले ग्राहकहरू लाभान्वित हुनेमा विश्वास व्यक्त गरे। एक्स्पोमा ग्राहकहरूले विभिन्न ब्रान्डका विद्युतीय चार पांग्रे, दुई पांग्रे र तीन पांग्रेबारे जानकारी प्राप्त गर्न सक्नेछन्। वर्तमान समयमा विद्युतीय सवारी साधनहरूको महत्व बढदै छ। यस्ता सवारी साधनहरूको बढदो प्रयोगले नेपालमै उत्पादित जल-विद्युतको उपभोग बढ्छ। यसरी देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ।

 

नाडा इभी एक्स्पो २०२२ मा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरू हुनेछन्। एक्स्पोमा सातवटा ब्रान्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्रान्डका दुई पांग्रे, ३ वटा ब्रान्डका टायर, २ वटा ब्रान्डका ब्याटरी, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवम् अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरूको सहभागिता हुनेछ। उक्त एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे जनचेतना अभिवृद्धि गर्न एवम् सम्बिन्धित सम्पूर्ण अटो व्यवसायीहरूको समस्टिगत प्रवर्द्धनमा प्रत्येक्ष तथा सकारात्मक प्रभाव पार्नेमा आयोजक विश्वस्त छ। एक्स्पोलाई बढी जानकारीमुलक, सेवामुलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, विक्री पछिका सेवा एवम् इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू छन्। एक्स्पो सम्बन्धी समाचार सम्प्रेषणमा सहजताकालागि छुट्टै एउटा साझा मिडिया स्टलको पनि व्यवस्था गरिएको छ।

 

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिडभाड कम गर्न र आगन्तुकहरूको भ्रमणलाई सहज बनाउन आजदेखि खल्ती एप मार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ। आजदेखि असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपद्वारा २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ। टिकटको मूल्य विद्यार्थीहरूको लागि १५० र सामान्यमा दुई सय रूपैयाँ तोकिएको छ। चार दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको छ।