२०८० चैत्र १५ , बिहिवार

जनता सहभागिता नभएको विकास सफल हुन्न : मन्त्री भुसाल

सुनाखरी न्युज/ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आंकक्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

 

ललितपुर महानगर–२२, महर्जन समाजको २५ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री भुसालले भन्नुभयो, “जनता सहभागिता नभएको विकास सफल हुन्न, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ ।”आफूले बुङ्मतिका जनताको खेत सिँचाइका लागि महत्वपूर्ण पहल लिएको उल्लेख गर्दै मन्त्री भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको बताउनुभयो । नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीब्रताका साथ अगाडि बढाएको बताउँदै उहाँले आगामीका दिनमा यहाँका जनताको गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कला, संस्कृतिको संरक्षण गर्ने र बुङ्मतिलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने आफ्नो ध्येय रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “बुङ्मतिका हरेक घरमा एक कोठा घरबास(होम स्टे)का लागि छुट्याउनुपर्छ, यहाँ उत्पादन हुने मौलिक कलाका सामग्री बेजेर अर्थोपार्जन गर्नुपर्छ ।”बुङ्मतिका कलासंस्कृतिलाई पुस्तान्तरण गरेर निरन्तरता दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले नयाँ पुस्तालाई एकताबद्ध गरेर महर्जन समाजले आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यहाँको जनताको आर्थिक अवस्था माथि उठाउनका सिङ्गो बुङ्मतिलाई एकताबद्ध गरौँ, सहिष्णुण बनाऔं ।”

 

कार्यक्रममा बागमति प्रदेशका पूर्वमन्त्री जीवनराम खड्काले महर्जन समाजले आगामी दिनमा यहाँको समाज रुपमान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी समाजका पदाधिकारीले समाजको विकास र रुपमान्तरणमा सहयोग गर्न राजनीतिक दल एवं समाजका अगुवालाई आग्रह गर्नुभएको थियो ।