२०८१ बैशाख ७ , शुक्रवार

बैंकहरूमा तरलताको चाप छैन, ऋण लगानीमा केही अप्ठ्यारो भएको मात्र होः डेपुटी गभर्नर

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताएका छन् ।  नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै शुक्रवार उनले नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको अभाव भएको बताए ।

विदेशी राष्ट्रको समेत प्रतिनिधित्व भएको सम्मेलनमा बारम्बार तरलताको चाप रहेको भन्दा बाहिर राम्रो सन्देश नजाने बताउँदै डेपुटी गभर्नर मिश्रले बैंकहरूबाट ऋणपत्र ९बण्ड० जारी गरेर पूर्वाधार विकासको लागि वृहत लगानी जुटाउन सकिने बताए । उनले राष्ट्र बैंकले बैंकहरूले ५ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको बण्ड निष्कासन गर्न सक्ने व्यवस्था गरेको जानकारी दिँदै ५ खर्ब ८ अर्बको पूर्वाधार निर्माणमा लगानी जुटाउन सकिने बताए ।

‘अहिले बैंकहरुमा तरलता चाप छ भनिरहनुभएको छ । बैंकहरुमा तरलताको चाप छैन । ऋण लगानीमा केही अप्ठ्यारो मात्रै हो । बारम्बार तरलता चाप छ भनिरह्यौं भने विदशी मुलुकमा नराम्रो प्रभाव पर्न जान्छ । हेजिङको विषय उठेन भने पूर्वाधार विकासको लगानी अधुरो रहन्छ । अहिले नेपाल सरकारको बजेट र राष्ट्र बैंकको नीतिमा हेजिङ शब्द लेखिएको हुन्छ । तर डुएबल भएको छैन’, मिश्रले भने ।

हालसम्म बैंकहरूले १ खर्ब ३० अर्ब रुपैयाँको बण्ड जारी गरिसकेको बताउँदै उनले पूर्वाधारमा थप लगानीका लागि बाहिरबाट ऋण लिन पाउने व्यवस्था राष्ट्र बैंकले खुलाएको जानकारी दिए । मिश्रले सजिलैसँग पस्न र बस्न देऊ भन्ने नीतिमा लाग्नुपर्छ भन्ने नीति राष्ट्र बैंकको भएको बताए । उनले पीपीए खुलेपछि लगानी कसरी जुटाउने भन्ने चिन्ता केन्द्रीय बैंकलाई हुने गरेको बताए ।

‘अहिले बैंकहरुले १०० प्रतिशत बण्ड जारी गर्न सक्नुहुन्छ । हालसम्म बैंकहरूले १ खर्ब ३० अर्ब रुपैयाँको बन्ड जारी गरिसक्नुभएको छ । राष्ट्र बैंकले ५३८ बण्ड जारी गर्न पाउने व्यवस्था गरेको छ । रिभिनिङ ५०८ अर्बको क्षमता बैंकहरुसँग छ । त्यो बण्ड जारी गर्न सकियो भने जलविद्युत, सहरी विकासलगायत ठूला औद्योगिक पूर्वाधारमा लगानी जुटाउन सक्छौँ’, मिश्रले भने, ‘पीपीए खुलेपछि लगानी कसरी जुटाउने भन्ने चिन्ता केन्द्रिय बैंकलाई छ । सरकारले पिपिए खुलाएपछि मैले नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष तथा अन्य बैंकरलाई बोलाएर छलफल गरेको थिएँ । थप लगानीका लागि बाहिरबाट ऋण लिन पाउने व्यवस्था खुलाइएको छ ।’