२०८० चैत्र १५ , बिहिवार

डेंगुको संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव, थारै माग बढ्ने वित्तिकै किन हुन्छ अभाव ?

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंलगायत मुख्य सहरी क्षेत्रमा अहिले डेंगुको संक्रमण तीव्र रुपमा बढ्दो छ । काठमाडौंका धेरैजसो अस्पताल डेंगुको बिरामीले भरिन थालेका छन् । डेंगु विरुद्धको खास उपचार र औषधि नभएकाले लक्षण अनुरुप औषधि दिइने गरिएको छ ।

 

अहिले डेंगुको संक्रमण बढेसँगै बजारमा पारासिटामोलको माग उच्च छ । खासगरी डेंगुको संक्रमणमा उच्च ज्वरो आउने भएकाले पारासिटामोल खान दिइन्छ । यद्यपि धेरैजसो ठाउँमा पारासिटामोलको अभाव हुन थालेको देखिन्छ । डेंगु र भाइरल ज्वरोको बिरामी बढेसँगै सिटामोलको माग अनुरुप बजारमा उपलब्ध नभएको एक औषधि वितरक स्वीकार्छन् । उनका अनुसार बजारमा सिटामोलको अत्यधिक माग छ । तर त्यसको अनुपातमा उत्पादन छैन । यद्यपि कतिपयले भने सिटामोलको कृत्रिम अभाव गराइएको गुनासो गरेका छन् ।

 

सिटामोल अत्यावश्यक औषधिमा सूचीकृत छ । यसैगरी सरकारले स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधिको सूचीमा दोस्रो नम्बरमा छ ।

केही वर्षअघि सरकारले सिटामोलको प्रति ट्याब्लेट एक रुपैयाँ भन्दा बढी लिन नपाउने भनेर तोकेको थियो । तर औषधि उत्पादक संघले एक रुपैयाँ एमआरपी भएको सिटामोल बनाउँदा घाटा हुने भन्दै उत्पादन नगरेकाले बजारमा अभाव भएको हुनसक्ने वितरकको दाबी छ । सिटामोलको मूल्य समायोजन हुनुपर्ने भन्दै पटक–पटक औषधि उत्पादक र व्यवसायीले माग गर्दै आएका छन् ।

 

प्रत्येक घरमा अनिवार्य जस्तै भइसकेको सिटामोलको मूल्य समायोजन गरेर उत्पादन क्षमता बढाउनुपर्ने औषधि व्यवसायीहरु बताउँछन् ।

‘माग अनुसार सिटामोल उत्पादन हुन नसकेको हो,’ औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी भन्छन्, ‘तर बजारमा अभाव भएको छैन ।’

औषधि उत्पादकको माग बमोजिम सिटामोलको मूल्य समायोजन गर्नेबारे सरकार सकारात्मक नै रहेको उनी बताउँछन् । यद्यपि अहिले महामारी बढिरहेको अवस्थामा नयाँ मूल्य निर्धारण गर्दा सर्वसाधारण मारमा पर्ने भएकाले कुनै कदम नचालिएको केसीको भनाइ छ ।

 

सस्तो भएकै कारण भारतबाट पनि  आयात हुन छाडेको उनी बताउँछन् ।