२०८१ बैशाख ७ , शुक्रवार

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष, लगायत पदाधिकारी र नेपालका लागी श्रीलंकाली राजदूत वीच भेटवार्ता

सुनाखरी न्युज/ काठमाडौं । नेपालका लागी श्रीलंकाली राजदूत महामहिम हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमीनीले गैरआवासीय नेपाली संघको कार्यालयममा भ्रमण गर्नु भयो ।

 

यस अवसरमा उहाँलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापा लगायत संघका पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले सचिवालयमा स्वागत गरेका थिए । महामहिम राजदूत श्री अरुणतिलकाले खासगरी नेपालमा संघको स्थापना, उद्देश्य तथा यसको विश्वव्यापी संजालको विषयमा चासो व्यक्त गर्नुभएको थियो । श्रीलंकामा पनि यस्तै छाता संगठन मार्फत गैरआवासीयहरुलाई एकीकृत गरी विकास साझेदारको मुल प्रवाहमा कसरी ल्याउन सकिन्छ भन्नेमा उहांको भ्रमण केन्द्रित थियो ।

 

यस अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापा, उपाध्यक्ष डि.बि क्षेत्री लगायतका पदाधिकारीहरुले संघले आजको अवस्था सम्म आउन गरेको प्रयास, चुनौती र आयामहरुको विषयमा प्रकाश पार्नु भएको थियो । यसरी नै महामहिम राजदूत अरुणतिलकाले गैरआवासीय नेपाली संघले आफ्नो संजाल विस्तार गर्न र नेपालको समृद्धिमा सहयोगको लागि गरेको प्रयास सिक्न लायक भएको प्रशंसा गर्दै आगामी दिनमा आफ्नो मुलुकमा पनि यस्तै संजाल बनाउने अभियानमा श्रीलंकाको सरकार प्रयासरत रहने बताउनु भयो ।

 

अन्त्यमा, अध्यक्षद्वयले यस भ्रमणले गैरआवासीय नेपालीहरुले गरेको अभियानमा छिमेकी मुलुकले समेत चासो दिएकोमा उहां समक्ष हार्दिक अभार प्रकट गर्नु भयो । यस्तै उहांहरुले आगामी दिनमा सहयोग तथा सिकाई आदान प्रदान गर्ने कुरामा जोड दिई यो भ्रमण एक कोशेढुंगो सावित भएको बताउनु भयो ।