२०८० चैत्र १५ , बिहिवार

गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई

सुनाखरी न्युज/ काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालक समिति (बोर्ड अफ डाइरेक्टर) अध्यक्षमा डेकिन्द्र कुमार राई नियुक्त भएका छन् ।

 

युवा व्यवसायी राईले नेपाली बैंकिङ्ग उद्योगमा रहेका फाइनान्सहरुमध्ये उम्दो फाइनान्स गोर्खाजमा आगामी तीन वर्षको लागि फाइनान्सको अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । निवर्तमान अध्यक्ष गौरव बुढाथोकीले आफ्नो कार्यव्यस्तताको कारण राजीनामा दिएपछि उनी अध्यक्ष चयन भएका हुन् । राई गत वर्ष सम्पन्न सञ्चालक समितिको ४३१ औं बैठकबाट बोर्ड सदस्यमा नियुक्त भएका थिए । नवनियुक्त अध्यक्ष राई ज्योति विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सुर्यबिनायक भक्तपुरमा प्रबन्धकको जिम्मेवारीमा तथा कैलाश बचत तथा क्रृण सहकारी संस्था लिमिटेडका मध्यपुर थिमी भक्तपुरको सञ्चालक समितिको अध्यक्ष जिम्मेवारी रहेर कुशलतापुर्वक भुमिका निर्वाह गरिसकेका व्यक्ति हुन् ।

 

दुई संस्थामा सफल जिम्मेवारी सम्हालेका राई सक्रिय समाजिक अभियान्ता समेत हुन् । उनी किरात राई विद्यार्थी संघको केन्द्रीय महासचिव, आदिवासी जनजाति विद्यार्थी महासंघको केन्द्रीय उपाध्यक्ष लगायतको जिम्मेवारी सम्हालेका राई अधिवक्ता समेत हुन् । हाल फाइनान्सका देशभर २६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६ वटा एटिएम छन् । यो भौगोलिक पहुँच र ९० हजार भन्दा बढी ग्राहक संख्याका ग्राहक वर्गका हिसाबले नेपालको अग्रणी फाइनान्समध्ये मध्ये एक हो । गोर्खाज फाइनान्स लिमिटेडले गत असारमा चारवटा नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ।

फाइनान्सले विशेष गोर्खाज बचत खाता खोल्दा दीर्घरोग बीमा तथा दुर्घटना बीमाको सुविधा पाउनुको साथै निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क एटिएम, निःशुल्क डिम्याट लगायतका सुविधा सहितको योजना ल्याएको हो । त्यस्तै, फाइनान्सले एकको दुई र एकको तीन मुद्दती निक्षेप योजना समेत सार्वजनिक गरेको छ । संस्थाले बचत गरेको निक्षेप पाँच वर्ष नौ महिनामा दोब्बर र नौ वर्षमा तेब्बर हुने योजना ल्याएको छ ।