२०८१ बैशाख ११ , मंगलबार

निगमको घाटा उच्च भएकाले पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिएन : मन्त्री बडू

सुनाखरी न्युज/ काठमाडौं । नेपाल आयल निगमको घाटा उच्च भएकाले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आयल निगकमको कुल घाटा ५० अर्व रुपैँया छ ।

 

पेट्रोलियम पदार्थको मूल्य बढ्दा बढाइ हाल्ने तर घट्दा नघटाउने नेपाल आयल निगमको पछिल्लो निर्णयप्रति विभिन्न टिकाटिप्पणी भइरहेको छ । मूल्य बढ्दा स्वचालित प्रणाली र घाटा बढ्यो भन्दै निगमले मूल्य बढाउन हतार गर्छ । तर मुल्य घट्दा नघटाउने प्रवृत्तिका कारण आम उपभोक्ता भने मारमा परेका छन् । विगतमा नेपाल आयल निगमको घाटा निकै बढेका कारण यसलाई सन्तुलनमा ल्याउन मुल्य घटाउन नसकेको तर्क उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको छ ।

 

यसअघि भारतीय आयल निगमले नेपाललाई पेट्रोलियम पदार्थको मूल्य तीन पटक घटाएर पठाएको थियो । त्यत्तिबेला मुल्य घटाउन कुनै चासो नदिएको निगमले यहि भदौ १६ गते मुल्य बढेर आउने बित्तिकै मूल्य बढाएको छ । निगमको यस्तो दोहोरो चरित्रका कारण उपभोक्ता महँगीको मारमा परेका छन् । भारतीय आयल निगमले अन्य पेट्रोलियम पदार्थको मुल्य बढाएर पठाएपनि मट्टितेलको मुल्य भने घटाएर पठाएको थियो । तर नेपाल आयल निगमले भने मट्टितेल र डिजेलमा प्रतिलिटर ६ रुपैयाँले मुल्य बढाएको छ । यसरी मुल्य बढाउँदा पनि निगमले अझै हरेक १५ दिनमा ४८ करोड २४ लाख रुपैयाँ घाटा हुने दावी गरेको छ ।