२०८० चैत्र १६ , शुक्रवार

आलोचनापछि संसदको आयु लम्ब्याउने निर्णयबाट सरकारपछि हट्याे

सुनाखरी न्युज/ काठमाडौं । वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको अवधि नयाँ निर्वाचन पछिसम्म पनि लम्ब्याउने सरकारको तयारीको चौतर्फी आलोचना भएको छ ।

 

निर्वाचन आचारसंहिताको समेत ठाडै उल्लंघन हुनेगरी सरकारले निर्वाचनपछि बन्ने सभाको पहिलो बैठकसम्म अवधि लम्ब्याउने गरी संसदमा विधेयक पेश गरेपछि चौतर्फी आलोचना भएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधेयकप्रति आपत्ति जनाएको भने राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा घोषणा गरिसक्नु भएको छ ।

 

निर्वाचनको मुखमै बदनाम हुने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विधेयक रोक्न कानूनमन्त्री गोविन्दप्रसाद कोइरालालाई निर्देशन समेत दिनुभएको बुझिएको छ । आइतबार अपरान्ह सत्ता गठबन्धनको बैठक चलिरहेको बेला प्रधानमन्त्री देउवाले मन्त्री कोइरालालाई बालुवाटार बाेलाएर त्यस्तो निर्देशन दिनुभएको हो । गत शुक्रबार प्रतिनिधिसभामा दर्ता गराएको केही नेपाल ऐन संशोधन विधेयकमा प्रतिनिधिसभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको कार्यकाल स्वतः समाप्त भएको मानिने व्यवस्था छ । प्रदेशसभाको हकमा पनि सोही प्रावधान लागू हुने उल्लेख छ ।

 

कानूनमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई समेत जानकारी नदिई उक्त विधेयक लगेको दावी प्रधानमन्त्री निकट ब्यक्तिहरुले गरेका छन् । उता, निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानून संशोधन गर्दा आयोगसँग परामर्श गर्नुपर्नेमा आयोगलाई थाहै नदिई विधेयक पेश गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । आयोगको आचारसंहिताले उम्मेदवारी मनोनयन अघि नै सांसद पदमुक्त हुने व्यवस्था गरेको छ।