२०८१ बैशाख १३ , बिहिवार

प्रतिनिधिसभाको आयु लम्ब्याउने सरकारको तयारीप्रति एमालेको आपत्ति

सुनाखरी न्युज/ काठमाडौं । वर्तमान प्रतिनिधिसभाको आयु आगामी चुनावपछि नयाँ संसद बस्ने दिनसम्मै लम्ब्याउने सत्ताधारी दलहरुको तयारीप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ ।

 

सरकारले केही नेपाल ऐन संशोधन विधेयक मार्फत प्रतिनिधि सभा निर्वाचन ऐन संशोधन गर्दै कार्यकाल गणना सपथ खाएको दिनबाट गर्ने व्यवस्था प्रस्ताव गरेकोप्रति एमालेले आपत्ति जनाएको हो । सरकारले ल्याएको विधेयक जस्ताको तस्तै पारित भए मंसिर ४ गतेको निर्वाचनपछि पनि अहिलेका सांसदहरू पदमा बहाल रहने भएका छन् । एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरे लगत्तै तत्कालिन सभाको कार्यकाल समाप्त हुनुपर्ने बताएको छ । एमाले नेताहरुले सांसदको लोगो भिरेर फेरी भोट माग्न जान नमिल्ने बताएका छन् ।

 

आइतबार पाल्पामा आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले चुनाव प्रभावित गर्ने गरी सत्ता गठवन्धन विभिन्न शंकास्पद गतिविधिमा लागेको आरोप लगाउनुभयो । ज्ञवालीले गठबन्धन विरुद्ध एक्लै चुनाव लड्ने तागत एमालेसँग भएपनि ठाउँ-ठाउँमा आवश्यकता अनुसार तालमेलका लागि ढोका खुला राखेको बताउनुभयो ।