२०८१ बैशाख ७ , शुक्रवार

जबराको तेस्रो दिनको बयान सुरू

सुनाखरी न्युज/ काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको तेस्रो दिनको बयान सुरू भएको छ । सर्वोच्च न्यायालयको नेतृत्व गर्ने क्षमतादेखि व्यक्तिगत लाभहानिका आधारमा फैसला दिने गरेका विषयमा सांसदहरूले सोधेका प्रश्नलाई जबराका जवाफले झन् गम्भीर बनाएका थिए।

 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि परेको रिटको सुनुवाइ गर्न आफूले चाहेजस्तो इजलास गठन गर्न नपाएको प्रसंग मात्र निकालेनन्, यसबाट ‘शालीन र दूरदर्शी’ ओलीमाथि अन्याय भएको पनि बताए। जबराले आफैंमाथि प्रश्न उठ्ने विषय पहिलो दिनको बयानमा पनि राखेका थिए । महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बुधबारदेखि बयान लिन सुरु गरेका हुन्।

गत फागुन १ मा सत्तारूढ दलका ९८ सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए। प्रतिनिधिसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेर टुंग्याउनुको सट्टा थाहै नपाएजस्तै गरेको थियो। ६ महिनापछि गत साउन २२ मा सभामुख अग्नि सापकोटाले प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाएपछि पनि समिति निष्क्रियजस्तै थियो ।