२०८१ बैशाख ८ , शनिवार

भारतीय सेनाध्यक्ष आज नेपाल आउँदै, नेपाली सेनाकाे मानार्थ महारथी प्रदान गरिने

सुनाखरी न्युज/ काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे आज नेपाल आउँदै छन्। पाँच सदस्यीय भ्रमण दलका साथ उनी पाँच दिनका लागि नेपाल आउन लागेका हुन् ।

 

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आउन लागेका पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिनेछ । यसका साथै उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने जनाइएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयका अनुसार पाण्डे २३ गतेसम्म नेपालमै विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । जस अन्तरगत प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरुप प्रदान हुने विविध सामग्रीको हस्तान्तरण कार्यक्रम, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने लगायत कार्यक्रम रहेका छन् ।

 

साथै सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट समेत गर्ने कार्यक्रम रहेको छ । भ्रमणको मुख्य उद्देश्य भने पाण्डेले नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन् । नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दर्जा प्रदान गर्नेछिन् । नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन रहिआएको छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्शल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो भने विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ सेना प्रमुखकाे दर्जाद्वारा विभूषित हुनुभयो ।

 

अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो । सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियाे । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ जना सेनापतिले यस्तो सम्मान प्राप्त गरेका छन् ।