२०८१ बैशाख ८ , शनिवार

आगामी असोज पहिलो साता राजधानीमा ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ मेला

सुनाखरी न्युज/ काठमाडौं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी असोज पहिलो साता राजधानीमा आयोजना हुने भएको छ ।

 

काठमाडौँको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तल्ला डिइसीसीमा (सेप्टेम्बर १७ तारिख देखि २२ तारिख) असोज १ गतेदेखि ६ गतेसम्म ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०२२’ मेला आयोजना हुन लागेको हो । पाकिस्तान र नेपाल मैत्री व्यापार मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ । दुई देशबीचको कला, संस्कृति र रीतिरिवाज आदानप्रदान गर्न मेलाले उत्कृष्ट भूमिका खेल्ने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ ।
कार्यक्रमलाई भब्य बनाउन अर्गनाइजरका रूपमा इन्ट्ररडक्सन ट्रेड शो नेपाल प्रालि, इन्डोर्स वाई काठमाडौंस्थित पाकिस्तानी राजदूतावास, प्रोमोटेड वाई ललितपुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज र भक्तपुर चेम्बर अफ कमर्श, सपोर्टेड वाई युनाइटेड वल्र्ड ट्रेड सेन्टर, भेन्यू प्रोभाइडरमा डिइसीसी, डिजीटल पार्टनरमा एडीएसलगायतले कार्यक्रमको शोभा बढाउने छन् ।

काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ । एक हप्तासम्म चल्ने मेलामा पाकिस्तानका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छन् । मेलाले आर्थिक गतिविधिलाई बढवा दिएर दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताउनुभयो । पाकिस्तानमा निर्मित छालाका सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले पाकिस्तानमा प्रभाव जमाएको भन्दै उहाँले मेलामार्फत दुबै देशहरुको उत्पादनको प्रबद्र्घनमा सघाउ पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

यस्तो मेलाले दुबै मुलुकका व्यवसायीलाई नजिक्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उहाँले विगत छ दशकयताको द्धिपक्षीय सम्बन्ध बलियो बनाउन प्रदर्शनी उपलब्धीमूलक हुने बताउनुभयो । व्यापार प्रबद्र्घनका लागि अतिथि राष्ट्रहरूमा भारत र बङ्गलादेशका स्टलहरू पनि रहने छन् । यसपटक मेलाको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत पाकिस्तान, भारत, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको स्टल रहने आयोजक पक्षले जानकारी दिएको छ । मेलामा व्यापार प्रवद्र्घनका लागि अझै पनि केही स्टल बाँकी रहेको भन्दै आयोजक पक्षले नेपाल, भारत, पाकिस्तान र बंगलादेशको कुम्भ मेलामा आफ्नो ब्राण्ड प्रवद्र्घन गर्न र व्यापार गर्न चाहने फर्म तथा कम्पनीलाई पनि आब्हान गरेको छ ।