२०८० चैत्र १६ , शुक्रवार

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रियसभाले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ । विधायन व्यवस्थापन समितिमा आवश्यक छलफलपछि राष्ट्रियसभामा पेस गरिएको विधेयकलाई शुक्रबार बहुमतले पारित गरिएको हो ।

 

बैठकमा गृहमन्त्री बालकृण खाणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रस्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे । सो विधेयक यसअघि प्रतिनिधिसभाबाट पारित भएको थियो । त्यसअघि गृहमन्त्री बालकृष्ण खाणले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

 

उनले केपी ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याइएको जिकिर गरेका थिए । उक्त अध्यादेशमा नरहेको तर विभिन्न राजनीतिक दलका नेताहरुसँग भएको छलफलका आधारमा सरकारले संविधानमा उल्लेखित प्रावधानअनुसार नै विधेयकमा सार्क सदस्य राष्ट्रभन्दा बाहिर बस्दै आएका गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रावधान राखिएको उनले बताए ।

 

उनले नागरिकता विधेयक पारित नहुँदा कयौं अनागरिकले नागरिकता नभएकै कारण राहदानी बनाउन नसकी वैदेशिक रोजगारीमा जान नपाएको, सिप भएर पनि सवारी चालक अनुपतिपत्रका लागि आवेदन दिन नपाएको, प्यान नम्बर नहुँदा व्यापार व्यवसाय सञ्चालन गर्न नपाएको स्मरण गराए ।