२०८० चैत्र १६ , शुक्रवार

आसिफ शेखको सतकसँगै नेपाल केन्याविरुद्धको पहिलो ‘वान डे’मा ७ विकेटले विजयी

सुनाखरी न्युज/ काठमाडौं । आसिफ शेखको सतकसँगै नेपालले केन्याविरुद्ध पहिलो ‘वान डे’ मा ७ विकेटको जित हासिल गरेको छ । केन्याको नैरोबीमा शुक्रबार भएको खेलमा आसिफले १ सय ८ रन बनाएपछि केन्याले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य नेपालले १६ ओभर बाँकी हुँदै पूरा गरेको थियो ।

 

 

पहिलो विकेटका लागि आसिफले अर्जुन साउदसँग मिलेर १ सय ४१ रनको साझेदारी गरेका थिए । साउद ३२ औं ओभरमा ६१ रन बनाउँदै आउट भए । त्यसैगरी ज्ञानेद्र मल्ल २४ रन बनाएर आउट भए । निर्धारित ५० ओभरको खेलमा १६ बल बाँकी हुँदै नेपालले २२१ रन बनाएर खेल जितेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट १५ र रोहित पौडेलले नटआउट ३ रन बनाएका थिए । यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४९ ओभरको पहिलो बल अलआउट हुँदै २ सय १८ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी र करन केसीले ३/३ विकेट लिएका थिए ।

 

त्यसैगरी पवन सर्राफ र मोहम्मद आदिल अलामले १/१ विकेट लिए । केन्याका २ खेलाडी रन आउट भएका थिए । केन्याका लागि रकेप पटेलले ६७ रन बनाए । उनलाई आदिलले आउट गरेका थिए । त्यसैगरी रन आउट हुनुअघि कोलिन ओबुयाले ६३ रन बनाएका थिए । पटेलल र ओबुयाले पाँचौ विकेटका लागि १ सय ३० रनको साझेदारी गरेका थिए । त्यसैगरी सचिन बुदिया पनि २६ रनमा आउट भए । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तीन वटा एकदिवसीय खेल खेल्नेछ । यसअघि पाँच श्रृंखलाको टि-२० प्रतिस्पर्धामा नेपालले केन्यालाई ३-२ ले जितेको थियो ।