२०८० चैत्र १६ , शुक्रवार

तीन दिनसम्म घरको शौचालयमा थुनिइन् ५४ वर्षकी एक थाई महिला

सुनाखरी न्युज / ५४ वर्षकी एक थाई महिला दुर्घटनावश घरको शौचालयमा थुनिइन् । एक्लै बस्नुका पक्कै पनि थुप्रै फाइदा छन् विशेषगरी ती व्यक्तिका लागि जो आफ्नो गोपनियतामा रमाउँछन् । तर यसका बेफाइदा पनि छन्, यसको पछिल्लो उदाहरण यी महिला नै बनेकी छिन् । बैंकककी यी महिलाको नाम थाई मिडियाले सार्वजनिक गरेको छैन । उनी २२ अगस्टमा आफ्नो घरको शौचालय गइन् तर त्यसपछिको तीन दिनसम्म उनी त्यहाँ नै थुनिन्छिन् भन्ने उनले सपनामा पनि सोचेकी थिइनन् ।

 

उनले ढोका बन्द गर्ने बित्तिकै बिग्रिएको ढोकाले उनको शौचालयलाई जेलमा परिणत गरिदियो । उनले त्यतिबेला मोबाइल फोनसमेत लगेकी थिइनन्, खानेकुरा र पानीको त कुरै नगरौँ । थुनिएको थाहा पाएपछि उनले ढोकामा बेस्सरी हानिन्, चिच्याइन् तर उनलाई बचाउन कोही पनि आएनन्। धाराको पानीमा बाँच्नु पर्यो । दुई दिनपछि उनी असाध्यै थाकिन् र मृत्यु निश्चित देखेपछि क्रिमले शौचालयको भित्तामा अन्तिम मेसेज लेखिन् ।तर उनी भाग्यमानी थिइन् । उनकी बहिनीले उनलाई धेरैपटक फोन गरिसकेकी थिइन् । तर फोन नउठेपछि उनी आत्तिइन् र उनी हराएको भन्दै प्रहरीमा उजुरी दिइन् । ती महिलाको खोजीमा टोली गठन गरियो । सबैभन्दा पहिला टोली उनको घरमा गए । गेटमा कसैले केही प्रतिक्रिया नदिएपछि उनीहरुले फलामको गेट चढेर घरभित्र जाने निर्णय गरे ।

 

 

टोली महिलाको घरभित्र पुगे र शौचालयको ढोका फोडे । प्रहरीले ती महिलालाई निकै कमजोर अवस्थामा फेला परे । उनले तीन दिनसम्म केही खाएकी थिइनन्, त्यसैले पनि उनी कमजोर हुनु स्वभाविक थियो । उनलाई नजिकैको अस्पताल लगियो । त्यसपछि प्रहरीले शौचलयको भित्तामा लेखिएका मेसेजको फोटो खिचे, जसमा लेखिएको थियो – ‘म अगस्ट २२ देखि शौचलयमा थुनिएकी छु । यदि म मरेँ भने मेरो इच्छाको ख्याल राख्न जे लेकलाई दिनु । टुकको सम्पत्ति तुवा टुन टुमलाई दिनु । मैले बाँच्न धाराको पानी खाएँ । पानी नखाएको भए म मरिसक्थेँ । मैले ढोका फोड्न खोजेँ, म चिच्याएँ तर मलाई कसैले पनि सुनेनन् ।’

ती महिलाको स्वास्थ्य अवस्था हाल राम्रो छ ।