२०८१ बैशाख १३ , बिहिवार

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा

सुनाखरी न्युज/ काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् ।

 

प्रतिनिधि सभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरु संगठित रुपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारी गर्दै बिहीबार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो । ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच अभियानको घोषणा गर्दै साझा घोषणा पत्र, चुनाव चिन्ह र साझा उम्मेदवार घोषणा गरिएको छ । घोषणा सभामा बोल्दै लौरो अभियानका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर ८ बाट आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीले अहिले भएका दलहरू जनता र राष्ट्र केन्द्रित नभएको बताउनुभयो ।

 

उहाँले धेरै पार्टीहरू भएकै कारण देश बिग्रिएको भन्ने मानसिकता रहेको बताउनु भयो । सायमीले अहिले नेपालमा भएका सबै दलहरू एकै खालका भएको बताउनुभयो । उहाँले अहिले नेपालमा भएका ठूला दलहरु निजी कम्पनी जसरी चलिरहेको दाबी गर्नुभयो । सायमीले स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई निर्वाचन आयोगले पनि विभेद गरेको गुनासो गर्नुभयो । उहाँले आफूहरूलाई जिताएमा देशमा परिवर्तन आउने बताउनुभयो ।

 

यस्तै, कलाकार मधुसुदन पाठक (सीते बा) ले पनि काठमाडौं–५बाट प्रतिनिधि सभा सांसदको उम्मेदवार घोषणा गर्नुभयो । उहाँले आफूले १७ वर्षको उमेरदेखि काठमाडौं क्षेत्र नम्बर ५ मा व्यवसाय गर्दै आएकाले त्यहाँबाट उम्मेदवारी घोषणा गरेको बताउनुभयो । उहाँले काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधित्व गर्दै जनताका समस्या समाधानको लागि संसदमा पुग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

 

लौरो अभियानमार्फत बिहीवार ११ जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रतिनिधि सभातर्फ ७ जना र प्रदेश सभातर्फ ४ जना गरी जम्मा ११ जनाले उम्मेदवारी घोषणा गरेका हुन् । मधुसुदन पाठक ‘सिते बा’ – काठमाडौं–५ र विद्या श्रेष्ठ महर्जनले काठमाडौं–९ बाट उम्मेदवार घोषणा गर्नुभएको छ । राजाराम तण्डुकारले ललितपुर–३, र भिष्म राना रुपन्देही–५ बाट स्वतन्त्र उम्मेदवार हुने बताएका छन् । भक्तपुर–२ बाट लोकेन्द्र र काठमाडौं–२ बाट रोहन कार्कीले उम्मेदवारी दिन लागेका हुन् ।