२०८१ बैशाख ७ , शुक्रवार

नेप्सेमा गिरावट कायमै

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन बिहिबार आज सामान्य अंकले घटेको छ । आज नेप्से १.०८ अंकले घटेर एक हजार ९ सय ७२ दशमलब २९ विन्दुमा बन्द भएको छ ।

 

बुधबार नेप्से २१.९७ अंकले घटेर एक हजार ९ सय ७३ दशमलब ३८ विन्दुमा बन्द भएको थियो । त्यस्तै, शेयरबजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज नेप्सेमा एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब १२ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये ११२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७० वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४०७ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज राप्ती हाइड्रो एण्ड कन्ट्रक्शन र गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज १२ करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ ।