२०८० चैत्र १५ , बिहिवार

मजफो कालिन शक्तिशाली उपेन्द्र यादवको पुनरोदय हुने

सुनाखरी न्युज/ काठमाडौं । आसन्न निर्वाचनको सन्दर्भमा पार्टीहरुको अवस्थाबारे अनेक अड्कलबाजी भइरहँदा जनता समाजवादी पार्टी, नेपाल भने यसपालीको निर्वाचनबाट मजफो कालिन अवस्थाको पार्टी झै शक्तिशाली जसपाको उदय हुने दावी गरेको छ ।

 

पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतसंगको कुराकानीमा उनले उक्त कुरा बताएका हुन् । “कम्तीमा हामी मधेशमा गठबन्धन गर्नुपर्ने अवस्थामा छैनौँ । हामी मधेशका सबै क्षेत्रमा एक्लै लड्न समर्थ छौँ । मधेशका हरेक क्षेत्रका नेता कार्यकर्ताहरुको एउटै माग छ मधेशमा गठबन्धन नहोस् हामीलाई क्षति हुन्छ । हाम्रो जस्तोे बलियो आधार क्षेत्र त काङ्ग्रेसको पनि छैन अहिलेको अबस्थामा । विभिन्न पार्टीसंग एकताको नाममा भागबन्डा गर्नुपर्ने र पार्टीभित्र सन्तुलन मिलाउने नाममा योग्य उम्मेदवारले टिकट नपाउने कारणले पार्टी उठ्न सकेको थिएन अब उक्त अबस्था नरहेकोले यसपालीको निर्वाचनबाट जसपा मधेशमा एकछत्र छाउँछ” बस्नेतले भने ।
गठबन्धन गर्दा जसपाले जती क्षेत्र मधेशमा छोड्नुपर्छ त्यती नै क्षेत्र अन्यत्र जित्ने सुनिश्चिता भएमात्र गठबन्धन हुन्छ, अन्यथा गठबन्धन गर्नुपर्ने कारण रहदैन” बस्नेतले थपे ।

 

स्थानीय तहको निर्वाचनको अनुभव सुनाउँदै उनले भने, “विगतमा हामीले इमान्दारी पूर्वक गठबन्धनलाई सघायौँ तर गठबन्धनले हामीलाई भने धोका दिएको छ यसबाट हामीले पाठ सिकेका छौँ । पार्टीलाई स्थापित गराउँन र उत्पीडित समुदाय र श्रमजीविहरुको पार्टीको रुपमा जसपालाई स्थापित गराउँन हामी कुनै कसर बाँकी राख्दैनौँ” उनले भने । जसपाले मधेससंगै प्रदेश १ को मोरङ, सुनसरी, खोटाङ, धनकुटा, भोजपुर, लुम्बिनीको बाँके, रुपन्देही, कपिलवस्तु, नवलपरासी, बर्दिया सुदुरपश्चिमको कैलाली र कञ्चनपुर, बागमती प्रदेशको काठमाण्डौमा चुनाव जित्ने नेताहरुको दावी छ ।