२०८० चैत्र १६ , शुक्रवार

आर्थिक कानुनसम्बन्धी क्षमता अभिवृद्धि गर्न सेजन र नेपाल बार एसोसिएसनबीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल बार एशोसिएसनबीच आर्थिक पत्रकारहरुलाई आर्थिक तथा व्यवसायिक कानूनसम्बन्धी क्षमता अभिवृद्धि गर्ने बारे समझदारी भएको छ । बुधबार नेपाल बार एशोसिएसनको कार्यालय रामशाहपथमा एक कार्यक्रमका बीच दुई पक्षबीच सम्झौता गरिएको हो ।

 

सम्झौतामा बारको तर्फबाट महासचिव अन्जिता खनाल र सेजनको तर्फबाट महासचिव भागवत भट्टराईले हस्ताक्षर गरेका छन् । आर्थिक तथा व्यावसायिक कानूनका विषयमा सेजनका सदस्यको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्ने तालिममा एशोसिएशनको तर्फबाट स्रोत व्यक्ति उपलब्ध गराउनेबारे द्विपक्षीय सम्झौतामा उल्लेख छ । तालिमका लागि स्रोत व्यक्तिका रुपमा अर्थ क्षेत्रसँग सम्बन्धित विज्ञ वरिष्ठ अधिवक्ताहरु बार एशोसिएसनले उपलब्ध गराउने भने अन्य व्यवस्थापन सेजनले गर्ने समझदारीपत्रमा उल्लेख छ ।

 

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल बार एसोसियसनका बागमती प्रदेश उपाध्यक्ष हर्कबहादुर रावलले यस्ता किसिमका क्षमता विकास कार्यक्रमले समग्र आर्थिक विकासमा टेवा पुग्ने बताए । ‘मुलुकको आर्थिक सामाजिक विकासमा प्रोफेसनलहरुबीचको सहकार्यले महत्वपूर्ण योगदान गर्छ,’ उपाध्यक्ष रावलले भने। बारकी महासचिव अन्जिता खनालले सेजनसँगको सहकार्यले बारलाई समेत सम्बन्धित विषयका विज्ञहरुको रोष्टर तयार पार्न सहयोग पुग्ने बताइन् । यो सहकार्यको सुरुआत भएको भन्दै आगामी दिनमा अझ बढी सहकार्यका ढोका खुल्ने उनले बताइन् ।

 

सम्झौता हस्ताक्षर कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक पत्रकारलाई आर्थिक तथा व्यावसायिक कानूनको रिपोर्टिङ तथा सम्पादन गर्न यो तालीम महत्वपूर्ण सावित हुने बताए । ‘आर्थिक कानुनका विषयमा पत्रकारहरुको क्षमता विकासले पत्रकारिताको गुणस्तर विकास हुन्छ, जसले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्नसक्छ,’ अध्यक्ष बरालले भने । उनले पत्रकारले सिक्दा सही समाचार सम्प्रेषण हुने र यसले समाचारको गुणस्तर र विश्वसनीयता समेत बढाउने बताए ।