२०८१ बैशाख ७ , शुक्रवार

फनपार्कलाई कर तिर्न महानगरको २४ घन्टे अल्टिमेटम, नतिरे बन्द गरिदिने

सुनाखरी न्युज/ काठमाडौं ।

व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिँदै कर तिर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले फनपार्कलाई तिर्न बाँकी सम्पूर्ण रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न भनेको छ । तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी समेत गर्ने चेतावनी महानगरले दिएको छ ।

 

समाज कल्याण परिषद्‍को जग्गा भाडामा लिएर वर्षौंदेखि व्यवसाय गर्दै आएको फनपार्कले महानगरपालिकालाई तिर्न र बुझाउनुपर्ने कर तिरेको छैन ।

 

फनपार्कले काठमाडौं महानगरपालिकालाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएको महानगरपालिकाले जनाएको छ । महानगरका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकाले पत्र लेख्ने कार्य भएको बताए ।

व्यवसाय र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्ज कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गएर पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र तिर्न भनिएको छ ।

 

काठमाडौं महानगरपालिकाले पछिल्लो केही दिनयता महानगरभित्र अनधिकृत रुपमा बनाइएका संरचनाहरू भत्काउँदै आएको छ ।