२०८१ बैशाख १२ , बुधवार

मध्यपुरमा मौलिकता संरक्षण अभियान सुरू

केके मानन्धर/ काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक र भौगोलिक पहिचान झल्कने गरि नगरभित्रका विभिन्न ठाउँको नाउँ पुरानै स्थापित गराउने अभियान थालेको छ ।

 

नगरभित्र आफु खुसि बोर्ड राखेर पुरानो नाउँलाई प्रतिस्थापन हुनेगरी गतिविधि बढेको भन्दै मौलिकता संरक्षणको लागि प्रयास थालेको हो । नगर प्रमुख सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा आज नगरका बुद्धिजीवी, सरोकारवाला पक्ष, सञ्चारकर्मीहरूको सहभागितामा दोस्रो भेला गरेको छ । भेलाले अढाइ दसकदेखि थिमि क्षेत्रको अनुसन्धान गर्दै आएको संस्था मालेकुलेका संस्थापक ई। राजेन्द्र तूबन्जा श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय स्थानिय मौलिक नाम संकलन, अध्ययन तथा प्रतिस्थापन समितिु बनाएको छ ।

 

समितिमा सदस्यहरू क्रमशः बाबुकाजी साःछेँ श्रेष्ठ, केके मानन्धर, श्याम कृष्ण मानन्धर, धर्मसुन्दर बज्राचार्य, विनोद कोजु, तुलसीभक्त घजु, विनोद खमु, भरत ध्वं श्रेष्ठ, जगत कृष्ण प्रजापति तथा सुरेन्द्र बहादुर सिजापति छन् । २०५३ सालमा स्थापना भएको मध्यपुर थिमि नगरपालिकाका साविक पाँच वटा गाउँ विकास समितिबाट भौगोलिक प्रतिनिधित्व हुनेगरी समिति बनाइएको छ । समितिलाई सर्वसम्मत बनाउन समावेशी सहभागिताको आधारले आवश्यकता बमोजिम सल्लाहकार समिति, मनोनित सदस्य, उपसमितिहरू थप गर्दै जाने समझदारी बनाएको छ । समितिले नगरभित्र बनिसकेका घरहरूको नम्बरिङ्ग गर्दै, टोल, चोक, दोबाटोदेखि मुख्य सडकहरूको विषयमा उपलब्ध अभिलेख, स्थानियहरूको सुझाव संकलनलाई मुख्य आधार बनाएर ऐतिहासिक पृष्ठभूमिलाई अपभ्रंस नहुनेगरी पुरानै नाउँ प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।

स्थानिय मौलिक नाम संकलन, अध्ययन तथा प्रतिस्थापन समितिले रञ्जना लिपि, देवनागरी र अंग्रेजी लिपिबाट प्रत्येक टोलमा बोर्ड राख्ने, अनलाइन प्रविधिको गुगलमा रेकर्ड हुनेगरी डिजिटल म्यापिङ सिस्टम समेत लागू गर्नेछ । भेला पश्चात् बैठकको निर्णय पुस्तिकालाई नगर प्रमुख सुरेन्द्र श्रेष्ठले समितिका संयोजक ई। राजेन्द्र तूबन्जा श्रेष्ठलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा उपप्रमुख विजय कृष्ण श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष, पूर्व वडाध्यक्ष, संस्कृतिका अध्येता, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानियबासीहरूको सहभागिता थियो ।

नगरपालिकाले यसअघि पनि मूर्त अमूर्त सम्पदा संरक्षण, विकास र प्रवर्द्धनको क्षेत्रमा कोशेढुङ्गा साबित हुनेगरी थुप्रै काम गरिसकेको दाबी गरेको छ । नगरपालिकाले सानो ठूलो अभियानमार्फत ुहाम्रो कला, हाम्रो संस्कृति मध्यपुर थिमि हाम्रो सम्पत्तिु नारालाई सार्थक हुनेगरी काम गरिरहेको बताइएको छ ।