२०८१ बैशाख ७ , शुक्रवार

१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोलिँदै

सुनाखरी न्युज/ काठमाडौं । प्रहरी प्रधान कार्यालयले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।

 

निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने भन्दै प्रहरी प्रधान कार्यालयले संख्या र बजेट सहितको बिवरण गृह मन्त्रालयलाई बुझाएको थियो । यसपछि गृहले अर्थ मन्त्रालयसँग स्वीकृती मागिसकेको छ । अर्थले गत आइतबार माग भए भन्दा ५ हजार संख्या कम गरी १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृती दिएसँगै भर्ना प्रक्रिया अघि बढ्ने भएको हो ।

 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयबाट स्वीकृती आएको जानकारी दिनुभयो । गृह मन्त्रालयले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी पूरा गरेकालाई आगामी छनोट प्रक्रियामा प्राथमिकतामा राख्ने गरी तयारी गरेको छ । पुरानाबाट अपुग भएको अवस्थामा नयाँलाई भर्ना गर्ने तयारी छ ।

 

यसरी भर्ना गरिने म्यादी प्रहरीको कार्यकाल पनि स्थानीय तह निर्वाचनमा जस्तै ४० दिनको हुनेछ । स्थाीनय तह निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । स्थानीय तहको निर्वाचनमा जिम्मेवारी पुरा गरेका म्यादीलाई भर्ना छनोट प्रक्रियामा पहिलो प्राथमिकतामा राखिने भएको छ ।