२०८० चैत्र १६ , शुक्रवार

निमित्त प्रहरी महानिरीक्षक थापाबाट मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर थापाले प्रदेश प्रहरी प्रमुख, ब्यूरो प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख र प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई समसामयिक विषयमा नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् मंगलबार निर्देशन दिनुभएको छ ।

 

उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक थापाले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखी चाडबाड केन्द्रीत सुरक्षा योजना बनाई काम गर्न निर्देशन दिनुभयो । प्रविधिजन्य तथा आर्थिक अपराधको अनुसन्धानमा अझ बढि संवेदनशील हुनुपर्ने उल्लेख गर्दै आगामी दिनमा आउन सक्ने चुनौतिहरूको बिश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई आगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

निमित्त प्रहरी महानिरीक्षक थापाले चाडबाडको बेलामा हुन सक्ने सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग आवश्यक समन्वय एवं सहकार्य गरी अगाडि बढ्न समेत निर्देशन दिनुभयो । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधली रहित तवरले सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

 

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरुण कुमार बिसी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायव महानिरीक्षक श्याम ज्ञवाली, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मीरा चौधरी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक किरण राणा लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।