२०८१ बैशाख ७ , शुक्रवार

प्रवासी नेपालीलाई ‘शब्ददेखि वाक्यसम्म’ उपहार

सुनाखरी न्युज/ काठमाडौं । मातृभूमि नेपाल तथा मातृभाषा नेपालीलाई औधि माया र सम्मान गर्ने तर प्रवासमा अन्य भाषामा पठन–पाठन गरेका व्यक्तिका लागि लक्ष्य गरेर घरै बसीबसी स्वाध्यायनबाट नेपाली भाषा बोल्न र लेख्न सिकाउने पुस्तक ‘शब्ददेखि वाक्यसम्म’ प्रकाशित भएको छ ।

 

दोलखाको सुनखानीमा जन्मीहुर्की संयुक्त राष्ट्रसंघीय निकायमा लामो समय काम गरेका र हाल अमेरिकास्थितडेन्वर साउथ हाइ स्कूल कोलोराडोमा प्राध्यापन गर्दैआएका माधव शिवाकोटीले एक वर्षभन्दा लामो समयको अनवरत परिश्रम गरेर ‘शब्ददेखि वाक्यसम्म’ प्रकाशित गर्नुभएको छ । हाल डिजिटल भर्सनमा थुप्रै डटकमले प्रकाशित गरेको यो पुस्तक https://thuprai.com/book/sabdadekhi-wakyasamma/ मा उपलव्ध छ ।
लेखक शिवाकोटी भन्नुहुन्छ, ‘संस्कृति र भाषा सँगै हिड्छन् । संसारको जुनसुकै कुनामा गएपनि भाषा र संस्कृतिले मान्छेलाई आत्मसम्मान दिन्छ, परम्पराले हाम्रो उद्गम थलोको पहिचान दिन्छ ।’उहाँ अध्यापन गर्ने सन्दर्भमा नेपाली भाषी विद्यार्थीले नेपाली भाषा कसरी पढ्ने र कसरी लेख्ने भनेर सल्लाह मागे, धेरै नेपाली अभिभावकहरुको पनि सोही जिज्ञासा देखियो, सल्लाह र जिज्ञासाको जबाफ दिने क्रममा यो पुस्तक तयार भएको हो भन्नुहुन्छ ।

 

‘नेपाली डायस्पोराको दोस्रो पुस्तालाई नेपाली भाषा सम्बन्धमा कसरी सहयोग गर्न सकिन्छ भनेर चिन्तन गर्दै जाँदा पुस्तकले यो स्वरुप प्राप्त ग¥यो’, उहाँको भनाइ छ । लेखक शिवाकोटीले गैरसरकारी संस्थाहरुको विभिन्न शैक्षिक परियोजनाको नेतृत्व गरिसकेको र अनौपचारिक शिक्षाका पाठ्यपुस्तक लेखेको अनुभवको आधारमा नेपाली भाषा आफैले सिक्न सकिन्छ भन्ने बिचारले यो स्वाध्यायन पुस्तक लेख्ने निर्णय लिएको पनि बताउनुभएको छ । यो आफैबाट वा परिबारका सदस्यहरूसँग घरैमा नेपाली भाषा सिक्न सघाउने एक स्वयं–शिक्षा आर्जन निर्देशिका हो, आमा बुबा र बालबालिकाले बसेर छलफल गर्न र यसमा अभ्यास गर्न सक्दछन् । यस पुस्तिकामा, अनौपचारिक शिक्षा विधिको प्रयोग गरिएको छ ।

 

तसर्थ, सीधा शब्दबाट सिकाइ शुरू हुन्छ । हरेक नयाँ पाठमा नयाँ वर्ण र नयाँ स्वर देखिन्छ । यो पुस्तक आफैले सिक्न वा सिकाउन अझै सजिलो होस् भनेर नेपालीमा अडियो रेकर्डिङ पनि राखिएको छ । सम्बन्धित पाठ हेर्दै उक्त रेकर्डिङ सुन्दै गर्नसकिन्छ । साथमा नेपाली शब्दलाई रोमन र अंग्रेजीमा अनुवाद पनि गरिएको छ । एक सय ४० पृष्ठको यस पुस्तकमा नेपाली चाडबाड, स्मारक र परिवेशका साथ नेपाली भाषा सिकाउने प्रयास गरिएको छ । पुस्तकले दशैं, आफ्नो घर, पानी, खेत, कौसीको बगैंचा, ढुकुरको गुँड, षड्कोण, शिक्षा, त्रिशूल, फलपूmल, पशुपतिनाथ, नेपाली झण्डा, नयाँ धरहरा, जानकी मन्दिर, परेबा, रमाइलो छठ, रोटेपिङ, झरीआदि विषयमा जानकारी गराउँदै पूर्णतः नेपाली मौलिक परिवेशका साथ भाषा सिकाउने काम गरेको छ ।