२०८० चैत्र १५ , बिहिवार

बिना अनुमति विभिन्न ब्राण्डको लोगो राखी चामल विक्री वितरण गर्ने कार्यमा संलग्न पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । ललितपुर महानगरपालिका-३ सुन्दरिघाटस्थित सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योगको नाममा बिना अनुमति विभिन्न ब्राण्डको लोगो राखी चामल विक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा उक्त उद्योगका सञ्चालक मोरङ विराटनगर महानगरपालिका-९ शनिहाट घर भई काठमाडौं महानगरपालिका-१३ छाउनी बस्ने २७ वर्षीय एस अग्रवाल र म्यानेजर ओखलढुंगा सुनकोशी गाउँपालिका-५ पात्ले घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने बाल कुमार भन्ने २७ वर्षीय लाल बहादुर बस्नेत रहेका छन् ।

 

भारतका विभिन्न कम्पनीबाट आयातित चामलमा उत्पादन मिति र उत्पादक स्थान लगायतको विवरण नखुलेका लङ्ग ग्रेन र जिरा मसिनो चामललाई विभिन्न ब्राण्डका लोगो राखि खाद्य अनुज्ञापत्र अनुमति नलिई विक्री वितरण गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहल समेतबाट खटिएको संयुक्त टोलीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उक्त उद्योगबाट १ लाख ८० हजार ३० किलोग्राम चामल तथा प्याकेजिङका लागि राखिएका विभिन्न ब्राण्डका खाली ब्याग, प्याकेजिङ मेसिन एवं विग्रिएको अवस्थामा रहेको ४७ हजार ४ सय ६० किलोग्राम चामल फेला पारी उक्त उद्योगलाई सिलबन्दी गरिएको छ ।

 

उनीहरूलाई खाद्य ऐन २०२३ बमोजिम थप अनुसन्धानको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बबरमहलमा पठाईएको छ ।