२०८१ बैशाख १३ , बिहिवार

बाटुलेचौर तिज मेलाको तयारी पूरा, पुर्णकला र टिकाले तिज घन्काउने

शिशिर पौडेल/ पोखरा । पोखराको बाटुलेचौरमा आयोजना हुने ऐतिहासिक बाटुलेचौर तिज मेलाको तयारी पूरा भएको छ। हिमालय क्लबको आयोजनामा यही भाद्र १४ गते स्थानीय बाटुलेचौर खेल मैदानमा हुने ऐतिहासिक मेलाको आन्तरिक बाहेकका अरु सबै तयारी पूरा भएको क्लबका अध्यक्ष सुशील बस्नेतले जानकारी दिनुभयो।

 

मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीले उद्घाटन गर्नुहुने छ। मेलामा चर्चित लोकदोहोरी गायिका पुर्णकला विसी र टिका सानुलाई सम्मान गरिने बताइएको छ। मुख्य मन्त्री पोखरेलले उहाँहरू सहित स्व उदय व बस्नेत स्मृति राष्ट्रिय खेलाडी सम्मानवाट भलिबलका राष्ट्रिय खेलाडी लेखनाथ लम्साल, सहयोगी संस्था सम्मानबाट अन्नपूर्ण आत्मनिर्भर वालआस्रमलाई सम्मान गरिने क्लबका सचिव शिवराज देवकोटाले जानकारी दिनुभयो।

 

मेलामा चर्चित लोकदोहोरी गायिका विसी, टिका सानु, ज्याेति लोहनी, केशव घिमिरे लगायतका कलाकारको सास्कृतिक प्रस्तुती रहने क्लबले जनाएको छ। मेलामा लोपोन्मुख तिजे भाका हम्काईलो समेत प्रस्तुत गरिने छ। आन्तरिक बाहेक सबै तयारी पूरा भएको मेलामा छेलो, रस्साकस्सी, बेलुन फुटाउने, म्युजिकल चियर प्रतियोगिता समेत समावेश गरिएको छ। समुहगत तिज गित तर्फ २० टोलीको सहभागिता रहने र सहभागि टिमलाई जनहि १० हजार रुपैयाँ दिईने पुर्व अध्यक्ष मोहन थापाले बताउनुभयो।

 

अघिल्ला वर्षहरुमा ५ दिनसम्म मेला आयोजना हुने गरेकोमा यो वर्ष तिजको परम्परागत संस्कृतिको संरक्षण गर्ने उद्देश्यले १ दिन मात्रै भएपनि आयोजना गरिएको बताइएको छ। मेलामा पोखरा आसपासका क्षेत्रहरूवाट मेला हेर्न दर्शक सहभागि हुने र मेलामा करिव १० लाख खर्च लाग्ने कोषाध्यक्ष पुष्पराज अधिकारीले जानकारी दिनुभयो। मेलामा चर्चित लोकदोहोरी गायिका र स्थानीय कलाकार तथा गन्धर्व समुदायकाे प्रस्तुति रहने भएकाले मेला हेर्न स्थानीयहरू उत्सुक भएका छन्।