२०८१ बैशाख ७ , शुक्रवार

ऊर्जामन्त्रीको सङ्कल्प : ‘बिजुली बत्ती बाल्नका लागि होइन उज्ज्वल भविष्यका लागि’

सुनाखरी न्युज/ काठमाडौं । विगतका वर्षहरुमा बिजुली बत्ती बाल्नका लागि मात्रै हो, अन्य उपयोगका लागि होइन भन्ने मान्यता स्थापित थियो । सरकारले सो मान्यतालाई क्रमशः परिवर्तन गर्दै ‘अबको विद्युत् उज्ज्वल भविष्यका लागि’ भन्ने सङ्कल्प तय गरेको छ ।

 

औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि क्षेत्रको विकास तथा खानेपानी, विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो समृद्धिका लागि हो भन्ने मान्यता स्थापित गर्न लागिएको सरकारको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पम्फा भुसालले ‘पहिले विद्युत् बत्तीका लागि, अबको विद्युत् उज्ज्वल भविष्यका लागि’ भन्ने मान्यातका साथ कार्यक्रम अगाडि सारिएको जानकारी दिनुभयो ।

 

सरकारले गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन सबस्टेशन, प्रसारण एवं वितरण लाइन निर्माण तथा स्तरोन्नतिका कामलाई प्रमुख प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । आफूले ऊर्जा मन्त्रालय सम्हालेको १३ महिना पूरा भएको सन्दर्भमा मन्त्री भुसालले यो अवधिको कार्यकाल सकारात्मक र प्रभावकारी रहेको बताउनुभयो ।

 

यो अवधिको सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेकै विद्युत् व्यापारको मार्ग प्रशस्त भएको र नेपालले दैनिक तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात गर्न थालेको उहाँको भनाइ छ । “ऊर्जा मन्त्रालय सम्हाल्ने माओवादी पार्टी सम्बद्ध मन्त्रीहरुमध्ये म छैटौँ नम्बरमा परेँ । माओवादीकै नेता ऊर्जामन्त्री हुँदा देशबाट लोडसेडिङको अन्त्य भयो भने मसम्म आइपुग्दा विद्युत् व्यापारसमेत सुरु भएको छ”, उहाँले भन्नुभयो “ऊर्जा क्षेत्रमा दीर्घकालीन विकासमा थप मार्ग प्रशस्त भएको छ । यसले व्यापार घाटा घटाउनेलगायतका अन्य आर्थिक विकासका लागिसमेत काम गर्नेछ ।”

 

आर्थिक वर्ष २०७८÷०७९ मा मात्रै मुलुकको केन्द्रीय प्रणालीमा सात सय ७१ मेगावाट बिजुली थप भई कूल विद्युत् उत्पादन क्षमता दुई हजार दुई सय ६९ मेगावाट बराबर पुगेको छ । त्यसैगरी ६६ केभीभन्दा माथिको प्रसारण लाइन चार सय ४६ मेगावाट सर्किट किलोमिटर थप भई पाँच हजार ८६ सर्किट किलोमिटर बराबर निर्माण भएको छ । यस्तै बिजुलीको चुहावटसमेत १७ दशमलमव १८ बाट घटेर १५ दशमलव ३८ प्रतिशत कायम भएको छ ।

 

मुलुकको ९५ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको छ । पछिल्लो पाँच वर्षको विद्युत्को वार्षिक औसत खपतदर १८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कूल २१ हजार छ सय ४२ हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार भई सिँचाइ सुविधा उपलब्ध भई कूल सिञ्चित क्षेत्रफल १५ लाख ३१ हजार ६९ हेक्टर बराबर पुगेको छ । यस्तै, विद्युतीय पूर्वाधारको विकास तथा विस्तार गर्दै विद्युतीय साधनको प्रयोगलाई प्रोत्साहन गर्न विद्युतीय सवारी चार्जिङ स्टेशनका लागि सहुलियत दरमा महसुल निर्धारण गरिएको छ ।

 

भारत र बङ्गलादेशमा समेत बिजुली निर्यातको मार्ग प्रशस्त भएकाले जलविद्युत् आयोजना निर्माणको मोडालिटीमा समेत परिवर्तन गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्री भुसालले केही प्राविधिक समस्याका कारण बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि स्थापना गर्न लागिएको कम्पनीको काम अगाडि नबढेको बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् व्यापारका कारण मुलुकको अर्थतन्त्रमा पर्ने प्रभाव र आगामी कार्ययोजनाका बारेमा जानकारी दिनुभएको थियो ।

 

 

माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल ज्यू, यस मन्त्रालयको जिम्मेवारी लिएपश्चात भएका महत्वपूर्ण कार्यहरू :

१. कोभिड–१९ को असर र अन्तर्राष्ट्रिय असहज परिस्थिका बाबजुद पनि गत मन्त्रालयको अथक प्रयासबाट गत आर्थिक वर्षमा यस मन्त्रालयको वित्तीय र भौतिक प्रगति क्रमशः ७६.६६ र ८० प्रतिशत हासिल भएको छ । गत आवमा विद्युत उत्पादन क्षमता ७४१ मेगावाट थप भई कूल विद्युत उत्पादन क्षमता २२६९ मेवा पुगेको छ । त्यसैगरी ६६ केभीभन्दा माथिको प्रशारण लाइन ४४६ सर्किट किमी थप भइ ५०८६ सर्किट किलोमिटर निर्माण भएको छ । विद्युत चुहावट १७.१८ बाट १५.३८ पुगेको छ ।

२.बीस युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई (सामुदायिक संस्थाअन्तर्गतका ग्राहकसमेत) निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आइसकेको छ । विद्युत आधारभूत आवश्यकताको साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महशुल पुनरावलोकन गरी सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट रु २ सम्म महशुल कायम गरिएको छ ।

३. समग्र विद्युत महसुल दर घटाइएको छ । जसले गर्दा ग्राहस्थ्यतर्फको विद्युत खपत बृद्धि भएको छ । प्रतिव्यक्ति प्रतिवर्ष विद्युत खपत ३२५ युनिटबाट बढोत्तरी भइ ३५१ पुगेको छ । विगत पाँच वर्षको विद्युतको वार्षिक औषत खपतदर १८ प्रतिशतको दरले बृद्धि भएको छ । देशको करिब ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको छ । ‘स्वदेशी विद्युत जोडौँ, विदेशी ग्यास छोडौँ’ भन्ने अभियानबाट विद्युत खपतमा बृद्धि भएको छ । ग्यास प्रयोग घटाई स्वच्छ ऊर्जाको प्रयोगले वातावरण संरक्षणमा पनि सहयोग पुगेको छ ।

४. ‘पहिले विद्युत बत्तीका लागि, अबको विद्युत उज्वल भविष्यका लागि’ भन्ने मान्यताका साथ अब औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि विकास, लिफ्टमार्फत खानेपानी र सिँचाइ, विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो भविष्यको लागि ऊर्जाको प्रयोग गर्नुपर्दछ भन्ने नीतिका साथ गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन सबस्टेशन, प्रसारण एवं वितरण लाइन निर्माण र स्तरोन्नतीमा विशेष प्राथमिकता दिइएको छ ।

५. पहिलो पटक वर्षायाममा (असारदेखि कात्तिकसम्म) र सुख्खायाममा (मङ्सिरदेखि जेठसम्म) फरकफरक विद्युत महसुलदर कायम गरिएको छ । वर्षायाममा उत्पादित विद्युत अझै सहुलियत दरमा दिने निर्णय भएको छ ।

६. आन्तरिक खपतबाट बढी भएको विद्युतलाई उपयोग गर्नका लागि मित्र राष्ट्र भारत एवं बङ्गलादेशसँग छलफल भइरहेको छ । भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् बिक्री गर्न अनुमति प्राप्त भएको छ । भारतको इनर्जी एक्सचेञ्ज मार्केट (आइएक्स) मा बिजुली निर्यात सुरु भइ गत जेठ २७ गतेदेखि दैनिक ३६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ । गत आवमा आन्तरिक खपत भइ बढी भएको ५९४ गिगावाट आवर विद्युत निर्यात भएको छ । यसले व्यापारघाटा कम गर्न योगदान गरेको छ ।
७. बंगलादेश विद्युत व्यापारका लागि नेपाल विद्युत प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडबीच त्रिपक्षीय सम्झौता हुन छलफल अगाडि बढाइने सहमति भएको छ । ६८३ मेगावाटको सुनकोशी–३ जलविद्युत आयोजना संयुक्तरुपमा अगाडि बढाउने विषयमा प्रारम्भिक समझदारी भएको छ ।

८. विद्युत वितरण विनीयमावली २०६९ लाई संशोधन गरी ग्राहकमैत्री विद्युत वितरण बिनियमावली बनाइएको छ । अब ग्राहकले मागेको समयमा सहजै विद्युत पाउने व्यवस्था गरिएको छ । १०० केभिएसम्म विद्युत सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी, सिँचाइ क्षेत्रलाई २०० केभिएसम्म विद्युत प्राधिकरणकै ट्रान्सफरमरबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ । अब घरभाडामा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिइ ग्राहक बन्न सक्ने र अपार्टमेन्ट तथा कोलनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्नेछन् । यसबाट शहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुनेछन् ।

९. विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न विद्युतीय सवारी चार्जिङ स्टेसनका लागि सहुलियत दरमा विद्युत महसुल निर्धारण गरिएको छ । प्राधिकरणमार्फत देशभर चार्जिङ स्टेसन निर्माण कार्य तिब्रताका साथ अगाडि बढाइएको छ । साथै, व्यक्तिगत, निजी तथा संस्थागतरुपमा चार्जिङ स्टेसन स्थापना गर्नका लागि २०० केभिएसम्मको ट्रान्फर्मरसहित विद्युतीय पूर्वाधार प्राधिकरणले निर्णय गर्ने व्यवस्था मिलाइएको छ ।

१०. नेपाल विद्युत प्राधिकरण  र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सहकार्य गरी आगामी दुई वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण गर्न कार्ययोजना बनाएर काम अगाडि बढाईएको छ ।

११. गुणस्तरीय र भरपर्दो विद्युत सेवा प्रवाहका साथै ऊर्जा सुरक्षालाई प्रवद्र्धन गर्न अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू अगाडि बढाइँदै छ । लोड सेन्टरमा रहेको १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना क्याबिनेटबाट निर्णय भइ कम्पनी दर्ता अन्तिम चरणमा रहेको छ ।

१२. कोभिड–१९ को दोस्रो र तेस्रो चरणका कारण जलविद्युत आयोजनाहरूको निर्माणमा असर पर्न गएको सन्दर्भमा निजी प्रवद्र्धकहरूको मागलाई समेत ध्यानमा राख्दै व्यापारिक रुपमा विद्युत उत्पादन गर्ने समयसीमा एवं वित्तीय व्यवस्थापन गर्नुपर्ने समयसीमा एक वर्ष थप गरी निजी क्षेत्रलाई आयोजना विकासमा सहजीकरण गरिएको छ ।

१३. गत आवमा २१,६४२ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भइ कूल सिञ्चित क्षेत्रफल १५,३१,०६९ पुगेको छ । यसगरी तटबन्ध निर्माण करिब ८० किमी थप भई १,२८८ किलोमिटर पुगी बाढी नियन्त्रण गर्न सफल भएको छ । सो क्रममा ५४७ हेक्टर जग्गा उकास भइ कूल १२,५५२ हेक्टर क्षेत्रफलको जग्गा उकास भएको छ ।

१४. महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि टनकपुर बाँधबाट पानी प्राप्त गर्न शुरु भएको छ । बागमती सिँचाइ आयोजनाको सिञ्चित क्षेत्र सुधार र बिस्तार गरी १,२२,००० हेक्टरमा सिँचाइ सुविधा पु¥याउन आवश्यक अध्ययनका लािग सम्झौता भई कार्यान्वयन शुरु भएको छ ।

१५. भेरी बबई डाइभर्सन बहुउद्देशीय आयोजनाको क्रमागत सिभिल निर्माण कार्यको संचालन, हाइड्रोमेकानिकल कार्यको खरिद सम्झौता सम्पन्न भई निर्माण व्यवशायी परिचालित र इलेक्ट्रोमेकानिकल कार्यको खरिद प्रकृया अन्तिम चरणमा रहेको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाका विश्व बैंकतर्फ ३ वटै प्रणालीहरुको आधुनिकिकरणका कार्यका साथै ४.७ मेगावाट विद्युत उत्पादनको कार्य समेत अन्तिम चरणमा पुगेको छ ।

१६. सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको टनेल निर्माण कार्य लक्षित समयमा सम्पन्न हुनेगरी काम भइरहेको, सिभिल र हाइड्रोमेकानिकल कार्यको डिजाइन तथा लागत अनुमान तयारी गर्ने कार्य सम्पन्न भएको छ । झापा, सर्लाही र रौतहटम ७,००० हेक्टरमा वर्षैभरी सिँचाइ सुविधा दिने दुई भूमिगत जल सिँचाइका आयोजनाको स्वीकृती भइ कार्यान्वयन शुरु भएका छ ।

१७. सुनसरी मोरङ, चन्द्रनहर, कोशी पम्प, कमला, बागमती, मनुष्मारा, झाँझ, नारायणी, गण्डक, भैरहवा लुम्बिनी, प्रगन्ना, सिक्टा, बबई, राजापुर, रानी जमरा कुलरिया र महाकाली सिँचाइबाट मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर गरी १५ जिल्लाको सिंचित क्षेत्रमा विस्तार भएको छ । सतह तथा भूमिगत सिँचाइ गरी १२,५७३ हेक्टर जमिनमा थप सिँचाइ सुविधा बिस्तार भएको छ ।

मिति : २०७९÷०५÷१२
धन्यवाद !