२०८१ बैशाख ७ , शुक्रवार

उपत्यकामा ह्वात्तै बढे डेंगुका बिरामी, ललितपुरमा सबैभन्दा धेरै

सुनाखरी न्युज/ काठमाडौं ।
उपत्यकामा डेंगुका बिरामी ह्वात्तै बढेका छन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा एक हप्तायता डेंगुका बिरामीले बेड भरिन थालेका हुन् ।

 

टेकु अस्पतालमा रहेको १५ वटा इमरजेन्सी बेड मात्र होइन, ४० बेडको वार्डमा पनि अधिकांश बिरामी डेंगुकै रहेका छन् । केही बिरामी भने केही सर्पदंश र कालाजारका रहेका छन् । इमरजेन्सी वार्डमा खटिएका मेडिकल अधिकृत डा. प्रकाश ज्ञवालीका अनुसार दुई हप्ता डेंगुको बिरामी आउन थाले पनि १ हप्तायता संख्या ह्वात्तै बढेको जनाए । उनले धेरैजसो बिरामी ज्वरो र जिउ दुखाइको लक्षण लिएर आएको बताए ।

 

डा. ज्ञवाली भन्छन्, ‘९० प्रतिशत डेंगुकै बिरामी उपचार गराइरहेका छन् । यहाँ अरु पनि संक्रामक रोगको बिरामी आउँछन् । घरमै आराम गर्न सक्नेलाई पठायौँ नभए अरु म्यानेज गरेका छौँ । अहिले बेड नै खाली छैन । बिरामी नै फर्काउनु पर्ने अवस्था आइसकेको थिएन। सानो ठाउँ भयो बिरामी बढे ।’

हाल अस्पतालमा ७० देखि ८० जना दैनिक डेंगुजस्तै लक्षण लिएर आउने बिरामी बढेका छन् ।

६९ जिल्लामा पुग्यो डेंगु, ललितपुरमा सबैभन्दा धेरै

डेंगु हाल ६९ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको २६ अगस्ट २०२२ सम्मको तथ्यांक अनुसार जनवरीदेखि अगस्टसम्म प्रदेश १ मा १७४, मधेश प्रदेशमा ५२, वाग्मती प्रदेशमा १ हजार ३३०, गण्डकी प्रदेशमा ६७, लुम्बिनी प्रदेशमा ६३३, कर्णाली प्रदेशमा ३५५ र सुदूरपश्चिम प्रदेशमा ७९ वटा गरी २ हजार ३७० जना केस भेटिएका छन् ।

सबैभन्दा धेरै ललितपुरमा ७५१, रुपन्देहीमा ३६१, काठमाडौँमा ३०१ वटा केस देखिएका छन् भने ७० भन्दा बढी केस देखिनेमा धादिङ, तेह्रथुम, संखुवासभा, भक्तपुर, सिन्धुली, अर्घाखाँची र गुल्मी रहेका छन् । सबैभन्दा बढी केस जुलाई र अगस्टमा पुष्टि भएका देखिन्छन् ।